डा शरद हरी गजुरेल
विभिन्न किसिमका किटाणुको संक्रमणबाट बच्नका लागि सबैभन्दा सजिलो उपाय भनेको हातको सरसफाई (ह्याण्ड हाइजिन) हो। सामान्यतया संक्रमणबाट बच्न साबुन पानीले हात धुने र ७० प्रतिशत अल्कोहल भएका ह्याण्ड स्यानिटाइजरले हातको सफाई गर्नुपर्छ। साथै केही जटिल परिस्थितिहरुमा सर्जिकल हात धुने प्रक्रियाहरु पनि छन्।
घर, अफिस होस या अस्पताल किटाणु तथा सरुवा रोगको संक्रमणबाट बच्ने सरल र अचुक उपाय ह्यान्ड स्यानिटाइजरलाई नै मानिन्छ।
अहिलेको विश्वव्यापी परिस्थितिलाई मध्यनजर गर्ने हो भने बजारमा मास्क र ह्याण्ड स्यानिटाइजरको अभाव छ। यही बेला कालो बजारीको सन्त्रास पनि छाएको छ। त्यसैले यो विषम परिस्थितिमा सबै व्यक्ति तथा स्वास्थ्य संस्था आत्मनिर्भर हुनुपर्ने देखिन्छ।
ह्यान्ड रब, ह्यान्ड स्यानिटाइजर जस्ता अत्यावश्यक वस्तुको बजारमा माग त बढ्दो तर उपलब्धता छैन। हालै गरिएको एक अध्ययन अनुसार अमेरिकामा मात्रै विगतका वर्षभन्दा ७३ प्रतिशत बढी स्यानिटाइजर यस वर्ष खपत भएको पाइएको छ।
त्यसो भए हामी बजारको उत्पादनमा मात्र कहिलेसम्म निर्भर हुनुपर्ने ? हामी आफैंले आत्मनिर्भरताका साथ ह्याण्ड स्यानिटाइजर उत्पादन गर्न सक्दैनौं त ?
विश्व स्वास्थ्य संगठनले धेरै वर्ष अघि हात सफा गर्ने ह्याण्ड रबको फर्मूला बनाएको थियो। संगठनले गरीब तथा विकासोन्मुखलाई लक्षित गरी बनाएको फर्मूलाको बारेमा सन् २००९ मा पब्मेडमा आर्टिकल समेत प्रकाशित भएको थियो।
गरीब तथा विकासोन्मुख देशका विभिन्न अस्पतालहरुले वर्षौदेखि यो फर्मूला लागू गर्दै आएका छन्। नेपालकै कतिपय अस्पतालले पनि यसको सुरुवात गरिसकेको छन्।
विशेषगरी स्रोत साधनको कमी भएका स्वास्थ्य संस्थालाई मध्य नजर गरी बनाइएको यो फर्मूला किटाणुसँग लडन त प्रभावकारी छँदैछ, आर्थिक हिसाबले पनि कम मूल्य पर्ने, साइड इफेक्ट कम हुने, अस्पतालजन्य संक्रमण घटाउन मद्दत गर्ने र लामो समयसम्म सञ्चय गरी राख्न मिल्छ। बजारमा पाइने ह्याण्ड स्यानिटाइजर जतिकै प्रभावकारी र आफैं बनाउँदा यसको मूल्य पनि पाँच गुणा कम पर्न आउँछ।
ह्यान्ड रब बनाउने तरिका
विश्व स्वास्थ्य संगठनले सुझाव गरेको फर्मुलामा चाहिने तत्वहरु :
१. आइसोप्रोपाइल अल्कोहल ९९.८ प्रतिशत
२. हाइड्रोजन पेरोक्साइड ३ प्रतिशत
३. ग्लीसेरोल ९८ प्रतिशत
४. डस्टिल वाटर अथवा उमालेको चिसो पानी।
१० लिटर ह्यान्ड रब बनाउने तरिकाको पदार्थहरुको मात्रा यस प्रकारले तयार गर्नुपर्ने छ:
१. आइसोप्रोपाइल अल्कोहल ९९.८ प्रतिशत, ७५०० एमएल
२. हाइड्रोजन पेरोक्साइड ४ सय एमएलमा ४ सय मिलि डिस्टिल वाटर वा उमालेको चिसो पानी राखेर ३ प्रतिशत हाइड्रोजन पेरोक्साइड ८ सय मिलि मात्राको बनाउने।
अब ६ प्रतिशत हाइड्रोजन पेरोक्साइड ३ प्रतिशतको भएको छ। त्यसपछि ८ सय मिलि ३ प्रतिशत हाइड्रोजन पेरोक्साइडबाट ४ सय मिलि छुट्याएर राख्ने।
३. ९८ प्रतिशत ग्लीसेरोल १ सय ५० मिलि लिने र त्यसमा ५ सय मिलि डिस्टिल वाटर अथवा उम्लिएको चिसो पानी मिलाएर केही समय घोल्ने। यसो गर्दा ग्लीसेरोलको टासिने गुण कम भएर जान्छ।
४.१५ सय मिलि डिस्टिल वाटर अथवा उम्लिएको चिसो पानी छुट्याएर राख्ने।
अब ७५०० मिलि आइसोप्रोपाइल अल्कोहल, ४ सय मिलि हाइड्रोजन पेरोक्साइड, ६ सय ५० मिलि ग्लीसेरोलको घोल र १५ सय मिलि उम्लिएको चिसो पानीबाट करीब १० लिटरको मिश्रण बन्छ। उक्त घोललाई एउटा सफा बाल्टिनमा खन्याउनुहोस् र केही समय सफा जगले घोल्नुहोस्।
यसरी घोलिएको मिश्रणलाई सफा ग्यालिनमा कसेर विर्को लगाई राख्नुहोस्। उक्त मिश्रण बनाउन चाहिने सबै भाडाहरु प्रयोग गर्नु अघि तातो पानीले सफा गर्न पर्छ। यसरी बनाइएको ह्यान्ड रब ७२ घण्टापछि प्रयोगमा ल्याउन उपयुक्त मानिन्छ।
७२ घण्टापछि यो ह्यान्ड रबलाई आफ्नो निजी, घरायसी/कार्यालय प्रयोजन तथा स्वास्थ्य संस्थामा प्रयोग गर्न सकिन्छ। सुगन्धका लागी बजारमा पाइने राम्रो खालको एरोमा अथवा गुलाब जल समेत राख्न सकिन्छ।
माथी उल्लेख गरे अनुसारको समिश्रण नमिलेको खण्डमा छाला पोल्ने, खस्रो हुने जस्ता असर पनि पनि देखिन सक्छ। त्यसैले यो ह्याण्ड रबको मिश्रणलाई बनाउँदा ध्यान दिन आवश्यक छ।
यदी हामीले विश्व स्वास्थ्य संगठनको यो फर्मूला अपनाएर ह्याण्ड रब बनाउन सुरु गर्यौ भने ह्याण्ड स्यानिटाइजरमा आत्मनिर्भर हुन सक्छौं।
-( डा गजुरेल अन्नपूर्ण न्यूरो अस्तालका डेपुटी मेडिकल डिरेक्टर हुन्।)