डा शंकर काफ्ले
कुनै पनि रोग लागेको एकिनका साथ भन्न निदान हुनुपर्ने हुन्छ। त्यसको लागि सुरुमा बिरामीसँग सोधपुछ साथसाथै शारीरिक चेक जाँच गरिन्छ। त्यसबाट कुनै रोगको शंका गर्नसक्ने अवस्था भेटिन सक्छ। थप रेडियोलजिकल निदानको मद्दत पनि महत्वपूर्ण हुन्छ।
अब शंका लागेको रोग निश्चित गर्न या शंका नै गर्न नसकिएको अवस्थामा भने ल्याब (प्रयोगशाला) को सहयोग लिनुपर्ने हुन्छ। त्यसैले रोगको उपचारमा ल्याब मेरुदन्डको रुपमा रहेको हुन्छ।
हाल विश्व माहमारीको रूपमा फैलिएको कोभिड १९ ले सबैको ध्यान ल्याबतर्फ खिचिरहेको छ। क्लिनिसियनले सिधै (ल्याबको सहयोग बिना) औषधि दिएर सन्चो गराइरहको रोग पनि प्रायः हाल कोभिड १९ जस्तै रूपमा कुनै बेला मान्छेलाई दुःख दिइरहेका रोग थिए। ती रोगलाई ल्याबले त्यसको नालिबेली र कमजोर पक्ष पत्ता लगाई औषधिले दबाउन या मार्न सक्ने अवस्थामा पुगेका हुन्।
मलेरिया (औलो), प्लेग, हैजा, कुष्ठरोग, दादुरा, क्षयरोग, हात्तिपाइले रोग आदिबारे हामी जानकार नै छौ। कति रोग त ल्याबको सहयोग लिएर रोग लाग्नु अगाडि नै या सुरुको अवस्थामा नै रोक्न भ्याक्सिन समेत प्रयोग गरिरहेका छौं।
कोभिड १९ एउटा विषाणुले गराउने रोग हो, जुन विषाणुलाई कोरोना भाइरस भनिन्छ। यो कोरोना विषाणु १८ वर्ष अगाडि नै माहामारीको रुपमा देखापरिसकेको भए तापनि समय, मौसम र माटो अनुकूल आफूलाई परिवर्तन गर्दै लानसक्ने हुँदा हाल पहिलेभन्दा केही फरक रुपमा यो परिवर्तन हुन सफल भयो र पुनः मान्छेलाई असर गर्न सक्ने भएर फैलन पुग्यो।
यो भाइरस यस्तो अवस्थामा पुगेको भन्ने तब पत्ता लाग्यो जब चीनको वुहान प्रान्तमा मान्छेहरु रुघाखोकी जस्तो रोग लागेर र श्वास फेर्न गाह्रो भएर उपचार गर्दागर्दै पनि मर्न थाले। हो, रुघाखोकी मौसमको परिवर्तन सँगसँगै लाग्न सक्छ। तर प्रायः आफैं सन्चो भएर जान्छ। यो पनि त्यही सूक्ष्म विषाणुको काम हो, जसलाई भाइरस भनिन्छ। त्यतिबेला यो भाइरसले हाम्रो शरीरमा बढी असर पुराउन सक्दैन।
यी कमजोर भाइरस पनि बेलाबेला आफूमा परिवर्तन गराई नयाँ स्वरूप बदल्न सक्छन् र मानिसलाई असर गर्न सक्छन् । हो, चीनमा पनि सुरुमा यस्तै भएछ कि भनेर ती बिरामीको चेक गर्न ल्याबको सहयोग लिइयो र २००२ मा माहामारीको रुप लिएको कोरोना भाइरस फेरि केहि रुप परिवर्तन गरेर नयाँ तरिकाले असर गरेको भेटियो। त्यसैले यसको नाम पनि हाल कोभिड १९ राखिएको छ, जसको अर्थ नयाँ कोरोना भाइरस, जुन २०१९ मा फैलिएको भन्ने हुन्छ।
यसरी एक पटक निदान भइसकेका कतिपय रोगको पनि ल्याबले निगरानी राखिरहनुपर्ने हुन्छ भने कति त रोग लागेको भन्नलाई ल्याबले पुनः निश्चित गर्नुपर्ने हुन्छ। यति महत्वपूर्ण ल्याब हाल नेपालमा कुन अवस्थामा छन् र अहिले किन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले मात्र टेस्ट गरिरहेको छ भनेर धेरैको जिज्ञासा रहेको पाइयो।
यसबारे भन्नुपर्दा, नेपालमा ल्याबको व्यवस्थापन गर्न नेपाल सरकारले स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्ड सम्बन्धी निर्देशिका २०७३ लागू गरेको छ। यो अनुसार ल्याबलाई उसले दिने सेवा, मानव संसाधन र भौतिक पूर्वाधारको अधारमा ए देखि ई सम्म वर्गीकरण गरिएको छ।
टेकुमा अवस्थित राष्ट्रिय जनस्वास्थ प्रयोगशाला नेपाल सरकारको केन्द्रीय प्रयोगशाला हो, जसले देशको अन्य ल्याबको प्रेषण ल्याबको रुपमा पनि कार्य सम्पादन गर्दै आएको छ। देशभरिका ल्याबको लाइसेन्सिंग र मोनिटरिंगको जिम्मा एपिएचएलले पाएको छ। यसको अलवा, देशको जन स्वास्थ्यसँग सम्बन्धित समस्याको, जस्तै हालको कोभिड्१९, गत वर्षको डेंगु लगायतका सबै ल्याबको काम गर्ने जिम्मा पनि यसैको हो।
संक्षेपमा भन्नुपर्दा देशको मुख्य ल्याबको रुपमा एनपिएचएलको जिम्वेवारी रहेको छ, जुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गत रही कार्य सम्पादन गर्दछ। एनपिएचएलबाट स्वीकृत पाएका निजी ल्याबमध्ये ए लेभलका ९ वटा मात्र रहेका छन् भने बी लेभलका ४५ वटा छन्। यी दुई लेभलका ल्याबमा मोलिकुलर लेभलका टेस्टहरु गरिन्छ।
यस्ता ल्याबहरु हाम्रो देशमा न्यून देखिन्छन् भने यीमध्ये प्रायः उपत्यकाभित्र नै छन्। अझ भन्नुपर्दा ए लेभलका ल्याब सबै २००भन्दा बढी बेड चलाउने अस्पातलमा तथा विषशज्ञ सेवा दिने ५० बेडभन्दा माथिका सबै अस्पातलमा हुनुपर्ने हो। त्यस्तै गरी बी लेभलका ल्याब सबै ५० देखि माथि २०० सम्मका बेड भएका अस्पतालमा हुनुपर्ने हुन्छ। तर, हाल त्यो भइइराखेको देखिएको छैन।
यस्तो अवस्थामा कोभिड १९ को टेस्ट गर्न सक्ने ल्याब खोज्दा जिम्मा दिन सकिने ल्याब भेटाउन गाह्रो परेको र सोको व्यवस्था गर्न नसक्दासम्म सबै काम आफ्नै काँधमा एनपिएचएलले लिन बाध्य हुनुपरेको बुझ्नुपर्छ।
कोभिड १९ रोग गराउने नयाँ भाइरस हो जसको टेस्ट विश्वसनीय किट टेस्टमा आइसकेको छैन। यसको टेस्ट पिसिआर विधिबाट गर्नुपर्ने हुन्छ। सबैले बुझ्ने भाषामा भन्दा पिसिआर भनेको भाइरसलाई धेरै गुणा बढ्ने अवस्था बनाएर त्यसको रुपरङ पहिचान गर्नु हो। यसको लागि नयाँ उपकरण र त्योबारे जान्ने विज्ञको आवश्यकता पर्छ।
एनपिएचएल मा भने पहिलेदेखि नै पिसिआर मेसिन र म्यानपावर थियो। त्यसैले कोरोना भाइरसको महामारी सुरु हुने बित्तिकै जे जसरी हुन्छ, हतारमा त्यसको लागि आवश्यक केमिकल मगाएर टेस्ट गर्न थलिएको थियो। यसो गर्नु यसको जिम्मेवारी तथा कर्तव्य थियो। यो कामको जिम्मेवारी अरु ल्याबले बहन गर्न सक्ने र नसक्नेबारे ए र बी लेभलका ल्याबसँग पनि छलफल गरी यसको लागि तयारी थाल्न समेत अनुरोध गरिएको जानकारीमा आएको थियो।
स्वास्थ्य तथा जनसन्ख्या मन्त्रालयले सम्बन्धित क्षेत्रका विज्ञ र आफ्नो मातहतका कार्यालय प्रमुखसहित छलफलको बेला टेस्ट के कसरी गर्ने, कस्तोलाई समेटने, चाहना अनुसार सबैलाई टेस्ट गर्न दिँदा कस्तो फाइदा हुन्छ, आर्थिक र म्यानेजमेन्टमा कस्तो असर गर्छ, विदेशमा फेज १ देखि ४ सम्मकाले के कसरी टेस्ट गराएका छन् भन्ने सबै कुरा पक्कै उठिसकेको हुनुपर्छ। र, त्यसै बेलादेखि निर्देशित कार्य (टेस्ट) एनपिएचएलले गर्दै आइराखेको छ। टेस्ट खर्चलाई हालसम्म नेपाल सरकारले निःशुल्क गराएको छ।
विश्वका विकसित राष्ट्रले पनि खुट्टा कमाइरहेको भाइरस विरुद्ध लड्न ल्याबतर्फको काम एनपिएचएल र समग्र कामको लागि स्वास्थ्य तथा जनसन्ख्या मन्त्रालयले काँध थापिरहेको अवस्थामा नेपाली जनताको लागि गरिएको यो कार्य सह्रानीय मान्नुपर्छ।
किन आयो त यो अवस्था भन्ने अर्को प्रश्न उठ्न सक्छ। माथि उल्लेखित ल्याबको स्थापना सम्बन्धी निर्देशिका पूर्ण रुपमा लागू भएको छैन। यो प्रस्ट हुन्छ कि नेपालमा २०० भन्दा बढी बेडका अस्पाताल र ए लेभलको ल्याबको संख्यामा कुनै तालमेल देखिँदैन। अझ विषेशज्ञ सहितको सेवा दिने ५० बेडका अस्पताल नेपालमा धेरै छन्। यो अवस्था आउनुमा अस्पतालको स्तरोन्नति गर्दा ल्याबको स्तरोन्नतिमा ध्यान नदिनु हो।
अर्को कुरा, गुणस्तर सेवामा ख्याल नगर्नु र ल्याबलाई अस्पतालले प्रथमिकतामा नराख्नु। ल्याब टेस्टको लागि सजिलै विदेश पठाउन पाउने र सो काम गर्ने ल्याब पनि नेपालमा हुनाले आधुनिक र खर्चिलो सेवा सञ्चालन गर्न नखोजेको पनि हुन सक्छ। यसरी धेरै कारण हुन सक्छन् जसले गर्दा विश्वले ३५ वर्षदेखि प्रयोग गर्दै आएको पिसिआर सेवा अझै हाम्रो लागि नौलो रहेको छ। सरकारी तर्फबाट समेत आफ्नो केन्द्रीय प्रयोगशालामा मात्र सीमित राखिएको अवस्था छ।
अहिलेको कोभिड १९ को विश्व महामारीले अझै कस्तो रुप लिने हो र नेपाललाई के कस्तो असर गर्ला भन्ने कुरा डरलाग्दो रुपमै देखिएको छ। हामीसँग अरु देशमा जस्तो ल्याबको सुविधा समेत नभएको अवस्थामा यसको पहिचान गर्न र नियन्त्रण गर्नमा हामी चुक्छौ कि भन्ने डर छ।
जेजस्तो स्थिति भए पनि हामी यो भाइरससँग लड्नै पर्ने हुँदा जतिसक्दो चाँडो तयारी थाल्नुपर्ने हुन्छ। काठमाडौं भन्दा बाहिर पनि कम्तीमा एक प्रदेशमा एक कोभिड १९ को टेस्ट गर्नसक्ने ल्याबलाई जिम्वेवारी दिउँ। प्रतिष्ठान, मेडिकल कलेज या ए लेभलका ल्याबलाई यो कार्य सञ्चालन गर्न त्यति समय लाग्ने छैन।
हाल नेपाल सरकारले चीनबाट मगाएका समग्रीसहित केही स्थानमा सञ्चालन गर्न लगेको कोभिड १९ टेस्ट सराहनीय छ। सरकारले कोभिड १९ रोकथामको लागि गरेका कदममा हामी जनताले साथ दिनु जरुरी छ। र, लकडाउन संक्रमण नफैलियोस् भन्ने हेतुले गरिएको हो भन्ने सबैले बुझ्नु जरुरी छ।
(डा काफ्ले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुका कन्सल्ट्यान्ट प्याथोलोजिस्ट हुन्)