काठमाडौं- नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका बिरामीको संख्या ९ पुगेको छ।
संक्रमण देखिएका एक जना भने उपचारपछि निको भइसकेका छन्।
स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप तीन जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन्।
उनका अनुसार संक्रमण देखिएका तीन जना सुदूरपश्चिम प्रदेशका हुन्। संक्रमितमध्ये २ जना भारतबाट आएका व्यक्तिमा देखिएको हो भने एक जनामा स्थानीय संक्रमण देखिएको हो।
धनगढीको सेती अस्पतालमा उपचाररात चौथो संक्रमितको भाउजुलाई कोरोना संक्रमण देखिएको हो। ३४ वर्षीया उनी नेपालमा कोरोना भाइरसको स्थानीय संक्रमण देखिने पहिलो हुन्।
'यो लोकल ट्रान्समिसन हो। हामी संक्रमणको दोस्रो चरणमा पुगेका छौै। यसले सावधानी बढाउनु पर्ने देखिएको छ,' उनले भने। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले बताए।
यस्तै दुई जना भने भारतबाट नेपाल आएका व्यक्तिमा कोरोना संक्रमण देखिएको हो। कैलालीका २१ वर्षीय पुरुष र कञ्चनपुरका ४१ वर्षीय अर्को पुरुषमा कोरोना संक्रमण देखिएको हो। संक्रमण देखिएकामध्ये कैलालीका पुरुष मुम्बईबाट र कञ्चनपुरका ४१ वर्षिय पुरुष भारतको उत्तराखण्डबाट नेपाल आएका हुन्। उनीहरु क्वारेन्टाइनमा नै रहेको अवस्थामा संक्रमण देखिएको हो।
उनीहरुलाई सेती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको डा देवकोटाले जानकारी दिए।
कोरोना संक्रमण देखिएका सबैको स्वास्थ्य सामान्य रहेको डा देवकोटाले जानकारी दिए।