काठमाडौं- कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ८८ जनाको नमूना परीक्षण भएको छ। उक्त अवधिमा कुनै नयाँ संक्रमण भेटिएको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित कोरोना ब्रिफिङका क्रममा हालसम्म १ हजार ५ सय २९ जनाको नमूना परीक्षण भएको जनाएको छ। यसअघि शनिबारसम्म कोरोनाको आशंकामा १ हजार ४ सय ४१ जनाको नमूना परीक्षण भएको थियो।
कोरोनाको आशंकामा भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा रहेका ९४ जना सबैको नमूना नेगेटिभ आएको मन्त्रालयका प्रवक्ता डा विकास देवकाटाले बताए। कोरोना प्रभावित देशबाट आएका ९४ जना नागरिकलाई क्वारेन्टाइनका लागि खरिपाटीमा राखिएको थियो।
काठमाडौं उपत्यकाको विभिन्न अस्पतालमा १२ र उपत्यका बाहिर १ सय १ जना आइसोलेसनमा छन्।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हुँदै आएको कोरोनाको परीक्षण अहिले काठमाडौं बाहिर ७ स्थानमा सुरु भएको छ। प्रवक्ता देवकोटाका अनुसार धरान, पोखरा, जनकपुर, सुर्खेत, हेटौडा, धनगढी र चितवनमा कोरोनाको परीक्षण सुरु भइसकेको छ भने बुटवलमा हुन सकेको छैन।