अनिल श्रेष्ठ
म हिजो केही सामान किन्नको लागि पसल गएको थिएँ। पसले दाइ तथा पसलमा सामान किन्न आउने प्रायःजसोले माक्स र मेडिकल ग्लोभ्स लगाएका थिए। पसले दाइ ग्लोभ्स लगाएको हातले जहाँतहीं छोइरहेका थिए भने घरिघरि मास्क मिलाइरहेका थिए।
यो दृश्यले मलाई निकै नराम्रो महसुस गरायो। हत्त न पत्त सोधें, किन ग्लोभ्स लगाउनु भएको दाइ? दाइको सहज उत्तर आयो, कोरोनाबाट बच्न। मैले फेरि सोधें, यसरी पनि कोरोना संक्रमणबाट बचिएला त दाइ? खै भाइ सबैले यस्तै गरेका छन्।
यो त एउटा प्रतिनिधि घटना मात्र हो आजभोलि प्रायः मानिसहरु मेडिकल ग्लोभ्स लगाएर हिँडिरहेका हुन्छन्। चाहे बाटोमा हिँड्ने मानिस हुन् वा तरकारी तथा सामान किन्ने ग्राहक, मेडिकल ग्लोभ्स लगाएर जहाँतही छोइरहेका देखिन्छन्।
मोबाइलमा फोन आउँछ, यसो ग्लोभ्स निकाल्यो, फोन उठायो, फेरि लगायो। घरिघरि चस्मा तथा माक्स मिलायो। यसो गर्दा कोरोना भाइरस संक्रमणको जोखिम घट्नुको सट्टा झन् बढ्ने जनस्वास्थ्य विज्ञहरुको भनाइ छ।
मेडिकल ग्लोभ्स कुनै विशेष काम (बिरामी जाँच तथा मेडिकल प्रोसिड्युर) का लागि लगाइन्छ र काम सकिएपछि तुरुन्तै निकालेर उचित ठाउँमा डिस्पोज गरेर र साबुनपानीले हात धुने गरिन्छ।
विशेष काम बाहेक मेडिकल ग्लोभ्स लगाउने मानिसहरु नियमित हात धँुदैनन्। जसले झन् कोरोना भाइरस संक्रमणको जोखिम बढाउँछ। नियमित साबुनपानीले हात धुनु नै कोरोना भाइरसबाट बच्ने सर्वोत्तम उपाय हो।
जो मानिस विशेष काम बाहेक मेडिकल ग्लोभ्स लगाउँछन् र सबै काम गरिरहेका हुन्छन्, उनीहरुले सोच्छन् कि ग्लोभ्स लगाएपछि रोगबाट सुरक्षित भइन्छ। र, हात धुँदैनन्, जुन एकदमै खतरनाक छ। त्यसैले विशेष परिस्थिति बाहेक मेडिकल ग्लोभ्स प्रयोग नगर्नु नै उत्तम मानिन्छ।
के हो मेडिकल ग्लोभ्स?
मेडिकल ग्लोभ्स अथवा पन्जा डिस्पोजेबल ग्लोभ्स हो। जसले मेडिकल जाँच तथा मेडिकल प्रोसिड्युरका क्रममा स्वास्थ्यकर्मी तथा बिरामीबीच हुनसक्ने संक्रमणलाई रोक्न मद्दत गर्छ। मेडिकल ग्लोभ्स विभिन्न प्रकारका पोलिमरहरु जस्तै लेटेक्स, नाइट्राइल रबर, पोलिभिनाइल क्लोराइड, नियोप्रिन जस्ता पदार्थबाट निर्माण गरिन्छ।
यो २ प्रकारको हुन्छ
१. इक्जामिनेसन ग्लोभ्स : यो कम बलियो, स्टेराइल तथा नन स्टेराईल दुवै हुन्छ।
२. सर्जिकल ग्लोभ्स : यो बलियो, उच्च गुणस्तर तथा स्टेराइल हुन्छ।
मेडिकल ग्लोभ्स प्रयोग किन गरिन्छ?
- स्वास्थ्यकर्मीको हातमा बिरामीको रगत तथा शरीरको अन्य तरल पदार्थबाट उत्पन्न हुन सक्ने संक्रमणको जोखिम कम गर्न।
- स्वास्थ्यकर्मीको हातमा भएका जीवाणुहरु वातावरण तथा बिरामीमा प्रसार रोक्न तथा बिरामीमा भएका जीवाणुहरु स्वास्थ्यकर्मीको हातमा प्रवेश हुनबाट रोक्न र एक बिरामीमा भएको जिवाणुहरु अर्को बिरामीमा प्रवेश हुनबाट रोक्न।
- विभिन्न प्रकारका केमिकलबाट बच्नको लागि।
मेडिकल ग्लोभ्स कसले प्रयोग गर्ने?
- स्वास्थ्यकर्मी (मेडिकल जाच तथा प्रोसिड्युरका क्रममा)
- बिरामीको हेरचाह गर्ने व्यक्तिले (बिरामीलाई हेरचाह गर्दा)
- केमिकल तथा बायोकेमिकल प्रयोगशालामा काम गर्ने कर्मचारीले।
कोरोना भाइरस संक्रमणबाट कसरी सुरक्षित रहने?
- नियमित रुपमा साबुनपानीले हात धुने (कम्तीमा २० सेकेन्ड)
- अल्कोहल बेस्ड स्यानिटाइजर प्रयोग गर्ने।
- आँखा, नाक तथा मुखमा नछुने।
- खोक्दा, हाच्छ्युँ गर्दा कुहिनोले छेक्ने तथा टिस्यु प्रयोग गर्ने। यदि टिस्यु प्रयोग गरेमा तुरुन्त सुरक्षित ठाउँमा डिस्पोज गर्ने।
- सामाजिक दूरी कायम गर्ने (न्यूनतम २ मिटर)
- रुघाखोकी तथा फ्लु जस्तो लक्षण देखिएको व्यक्तिको सम्पर्कबाट टाढा रहने।
-(हेल्थ असिस्टेन्ट श्रेष्ठ नेपाल एपिएफ अस्पतालमा कार्यरत छन्। )