काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा सोमबारदेखि नेपालमै पहिलो पटक व्यक्तिगत सुरक्षा कवज (पिपिई) बुथ राखिएको छ। अस्पतालको आइसोलेशन वार्डको बाहिर बुथ राखिएको हो।
कोरानो भाइरस (कोभिड-१९)का सम्भावित संक्रमितको परीक्षणमा सहजताका लागि यो बुथ राखिएको हो। सम्भावित संक्रमितको घाँंटीबाट र्याल निकाल्ने क्रममा चिकित्सकलाई पनि कोडिभ-१९ सर्नबाट जोगाउन बुथको प्रयोग गरिएको जनाइएको छ।
चिकित्सक बुथभित्र बसेर सम्भावित संक्रमितको घाँंटीबाट र्याल निकाल्दा चिकित्कसलाई रोग सर्ने सम्भावना शुन्य हुने जनाइएको छ। संभावित संक्रमितको घाँंटीबाट र्याल निकाल्ने क्रममा चिकित्सक बुथभित्र र सम्भावित संक्रमित बुथको बाहिर बस्ने हुन्छ।
डा महाविर पुनः अध्यक्ष रहेको राष्ट्रिय अनुसन्धान केन्द्रको सहयोगमा यो बुथ काठमाडौं बिल्डर्स प्रालि भक्तपुरले बनाएको हो। साथै यसमा अमेरिका नेपाल मेडिकल फाउण्डेशनको सहयोग पनि रहेको छ।
अमेरिका नेपाल मेडिकल फाउण्डेशनका डा अरुण कुँवरले नेपालमै पहिलो पटक शिक्षण अस्पतालमा यो बुथ राखिएको जानकारी गराए। अबका दिनमा यो बुथ काठमाडौंको वीर अस्पताललगायत कोरोनाको परीक्षण हुने मुख्यमुख्य अस्पतालहरुमा राखिने डा कुँंवरले जनाए।
बुथ निर्माण समूहमा संलग्न इन्जिनियर कृष्णभक्त दुवालले सोमबार एक कार्यक्रमबीच अस्पताललाई यो बुथ हस्तान्तरण गरेका छन्। यस क्रममा उनले बुथ निर्माणमा सहयोग गर्ने राष्ट्रिय अनुसन्धान केन्द्रका अध्यक्ष डा महाबीर पुनः डा अरुण कुँवर, अमेरिका नेपाल मेडिकल फाउण्डेशनका डा शंकर ढकाल, इन्जिनियर हरेराम हुमागाई, इन्जिनियर विमलराज गोसाई र सिदार्थविक्रम पाण्डेलगायतलाई विशेष धन्यावद व्यक्त गरे। उनले बुथको प्रयोगले कोरोना भाइरस (कोभिड-१९)को उपचारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।
.jpg)