काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल सामग्री खरिद प्रक्रियाका भएको भनिएको भ्रष्टाचारको बचाउ गरेका छन्। उनले देशवासीका नाममा गरेको सम्बोधनमा काम गर्न खोज्नेलाई निरुत्साहित पारिएको भन्दै बचाउ गरेका हुन्।
अवस्था सामान्य होस् या असामान्य, सरकारका कामकारबाहीहरु विधिसम्मत हुनुपर्ने र सुशासनका मानकमा ती खरो उत्रिनै पर्ने आफ्नो मान्यता रहेको उनले बताए। तर कामै गर्न नसक्ने र प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित पारिरहेको उनको भनाइ थियो।
उनले भने, 'राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन।' भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धता भएको बताउँदै मेडिकल सामग्री खरिदमा उठेको प्रश्नलाई निराधार कूप्रचारको संज्ञा दिए।
तर उनले कहीँकतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारबाही गर्न वर्तमान सरकार किंचित पछि नपर्नेसमेत उल्लेख गरे।