रिता पोखरेल
नोबल कोरोना भाइरसको कारणले विश्व आक्रान्त पर्दै गएको बेलामा नेपालमा पनि भविष्यमा महामारी आउन सक्ने कारणले त्रसित भएको अवस्था छ। हाम्रो जस्तो अल्पविकसित मुलुक जहाँ उक्त महामारीसँग लड्नको लागि स्रोत र साधनको अत्यन्तै अभाव छ, त्यहाँका स्वास्थ्यकर्मीलाई चिन्तित नबनाउने त कुरै भएन। विशेष गरी यो परिस्थितिमा स्वास्थ्यकर्मीहरुमा दुईवटा चिन्ता छन्।
एउटा आफ्नो पेशागत धर्म, अर्को आफुमा संक्रमण सर्ने डर। एकातिर पर्याप्त मात्रामा सुरक्षा सामाग्री नहुनु, अर्कोतीर बिरामीको रक्षा गर्नुपर्ने पेशागत धर्म; स्वास्थ्यकर्मीहरु त्रास र नैतिक दुविधामा छन्। यसका कारण बिरामीहरु पनि संकटमा छन, अहिलेको अवस्थामा कोभिड बाहेक अरु नै रोग लागेपनि बिरामीले उचित उपचार र स्याहार पाउन कठिन भएको छ। यसका कारणहरुमा पिपिईको पर्याप्त उपलब्धता नहुनु, पिपिईको उचित प्रयोगको बारेमा ज्ञान कम हुनु, उचित परामर्शको कमी हुनु, सकेसम्म साधारण लक्षण भएका तथा रिपोर्टको प्रतिक्षामा रहेका बिरामीहरुलाई समुदायमै एकान्तबासको व्यवस्थापन राम्रो नहुनु, कोरोनाको मात्र उपचार गर्ने पर्याप्त स्रोत र साधनयुक्त अस्पताल नहुनु आदी।
यस लेखमार्फत नर्स दिदीबहिनीहरुमा विद्यमान त्रासको प्रमुख कारण पिपिईको उपयुक्त प्रयोगको बारेमा जानकारी दिने जमर्को गरेको छु। ध्यान रहोस पिपिई मात्रको प्रयोगले हामी संक्रमणबाट बच्न सक्दैनौ, अस्पताल, घर तथा समुदायमा अरु सतर्कता र संक्रमण रोकथामका बिधिहरु पनि अपनइएन भने संक्रमण सर्ने खतरा बढेर जान्छ।
पिपिई अर्थात् व्यक्तिगत सुरक्षा सामाग्री भनेको संक्रमणबाट बचाउने कवच हो। यसमा पन्जा, मास्क, गाउन्, विशेष खालको चश्मा, टोपी, फेस सिल्ड, टोपी र रबरको जुत्ता पर्छन्। तर यीमध्ये केहि सामानहरु साधारण बजारमा पाइने भन्दा फरक खालका हुन्छ्न् र सधैँ सबै खालका सामाग्रीहरु प्रयोग हुँदैनन्। अहिले यो नोबल कोरोना भाइरसको महामारीले गर्दा यस्ता सामग्रीका चरम अभाव भइराखेको बेलामा झन् राम्ररी विचार पुर्याएर यसको आवश्यकतालाई राम्ररी विश्लेषण गरेर मात्र प्रयोग गर्नुपर्छ। यस्ता सामाग्रीहरु बिनासामाग्री बिरामीको हेरचाह गर्न नसक्ने बेलालाई सुरक्षित राख्नुपर्छ, चाहिएको बेलामा सबै स्वास्थ्यकर्मीहरुलाई उपलब्ध होस् भन्ने हिसाबले विश्व स्वास्थ्य संगठनले पिपिईको उपयुक्त प्रयोगको लागि ३ वटा रणनीतिहरु अघि सारेको छ।
१. सकेसम्म कम प्रयोग गर्ने
२. सही प्रयोग गर्ने
३. यसको कमी हुन नदिनको लागि आवश्यक समन्वय गर्ने
१. सकेसम्म कम प्रयोग गर्नको लागि आकस्मिक सेवाको लागि मात्र बिरामीलाई अस्पताल बोलाउने, अस्पतालमा बिरामी सुरुमा जचाउन आउने ठाउँमा सकेसम्म कम सम्पर्क हुनसक्ने संरचना (जस्तै सिसा या प्लास्टिकका झ्याल) बनाएर, सकेसम्म थोरै स्वास्थ्यकर्मी कोभिड बिरामिसंग प्रत्यक्ष सम्पर्कमा जाने, बिरामीको कुरुवाहरु सकेसम्म थोरै जनालाई मात्र बिरमिसंगको सम्पर्कमा जान दिने, सामाजिक दुरी कायम गर्ने |
२. सही प्रयोगको लागि विश्व स्वास्थ्य संगठन साथै नेपालको स्वास्थ्य मन्त्रालयले पनि बिरामीको सम्पर्कमा आउनुपर्ने आवश्यकता अनुसार पीपीइका तहहरु निर्धारण गरेको छ। त्यसैअनुसार प्रयोग गरौं।
३. संसारमै पिपिईको कमी महसुस भइरहेको अवस्थामा हाम्रोजस्तो देशमा कमी हुनु कुनै अनौठो कुरा त होइन, तर पनि पर्यटन व्यवसायीले एप्रोन तथा विशेष खालको पहिरन, कपडा र कागज उद्योगले मास्क, जुत्ता उद्योगले जुत्ता आदी उत्पादन नै गरेर भएपनि सकेसम्म सहज उपलब्धताको लागि सम्बन्धित निकायहरुको बेलैमा ध्यान जाओस्। आवस्यकता नै आविष्कारको जननी हो भनेझै आफूलाई चाहिने र अन्तरास्ट्रिय बजारमै आपूर्ति कम भएको अवस्थामा सामग्री गुणस्तर परिक्षण गरेर आफ्नै देशमा उत्पादनको प्रयास गर्दा पनि सबैमा आशाको किरण देखिन सक्छ।
यसरी सुरक्षा सामाग्रीहरुको अधिकतम प्रयोग गर्न सकिन्छ। पुनश्च: स्मरण रहोस पिपिई मात्र प्रयोग गरेर स्ट्यान्डर्ड प्रिकसन र प्रिभेन्टिभ मेजर्स गरिएन भने सक्रमण फैलिन सक्छ।
-(पोखरेल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानकी मानसिक स्वास्थ्य नर्सिङ एसिस्टेन्ट प्रोफेसर हुन्।)