मुख्य समाचार

कोरोना महामारीका बेला अस्पताल नजाने लुम्बिनी प्रादेशिक अस्पतालका ५ डाक्टर बर्खास्त

दीपक घिमिरे

बुटवल- कोरोना भाइरसका कारण मुलुक महामारीको संकटमा परिरहेका बेला उपचारमा नआएका चिकित्सकलाई प्रदेश ५ सरकारले कारबाही शुरु गरेको छ। प्रदेश ५ सामाजिक विकास मन्त्रालयले कोरोनाको महामारीको संकटका बेला अस्पताल नजाने डाक्टरलाई कारबाही शुरु गरेको हो। 

कोरोना महामारीका बेला अस्पताल नगएको भन्दै मन्त्रालयले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका ५ डाक्टरलाई बर्खास्त गरिएको जनाइएको छ। 'विगत दुई हप्तादेखि अस्पताल नआएका दैनिक ज्यालादारी र करार ५ डाक्टरलाई बर्खास्त गरिएको छ,' अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्रप्रसाद खनालले भने। 

रेडियोलोजी विभागमा कार्यरत डा. वरदान वली र डा तारा प्रसाद शर्मा, इएनटी विभागका डा. प्रकाश न्यौपाने, युरो सर्जन डा. सुवासचन्द्र चौधरी, आकस्मिक विभागमा कार्यरत डा. प्रकृति कार्कीलाई सेवाबाट हटाइएको मेसु डा खनालले बताए। उनीहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा अनुपस्थित थिए। 

सामाजिक विकास मन्त्री सुदर्शन बरालले महामारीको बेला सेवामा नखटिने चिकित्सकलाई कारबाही गर्न निर्देशन दिएको बताए। मन्त्री बरालले सुत्केरी बिदा, काजक्रिया बिदा र बिरामी बिदाबाहेकका बिदा स्वीकृत नगर्न र बिना जानकारी सेवामा अनुपस्थित हुने चिकित्सक तथा कर्मचारी हटाउन निर्देशन दिएका हुन्। 

मन्त्री बरालले प्रादेशिक अस्पतालबाट कारबाही शुरु भएको जानकारी दिँदै महामारीका बेला हाजिर नहुने चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुलाई कारबाही गरिने बताए।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने