काठमाडौं- सरकारले धारनस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनको उपकुलपतिमा प्राडा ज्ञानेन्द्र गिरीलाई नियुक्त गरेको छ।
प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीलाई उपकुलपतिमा नियुक्त गरेका हुन्।
उपकुलपतिका लागि डा गिरीसहित डा सञ्जिब शर्मा र डा गुरुराज खनालको नाम सिफारिस गरिएको थियो।
सिफारिसमध्ये गिरीलाई उपकुलपति नियुक्त गरिएको हो।
डा गिरी प्रतिष्ठानभन्दा बाहिरका हुन्। उनी बिराटनगरस्थित विराट मेडिकल कलेजमा कार्यरत छन्।
मुटु रोग विशेषज्ञ डा गिरी कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट भएर अवकासप्राप्त हुन्।
मुख्यतः विराटनगरकेन्द्रीत भएका उनी केही समय काठमाडांैको बिएण्डबी अस्पतालमा कार्यरत थिए। पछि विराटनगरमा मेडिकल कलेज सञ्चालन गर्ने भएपछि उनी बिराटनगर आएका हुन्। विराट मेडिकल कलेजको सञ्चालकमा आएदेखि उनी मेडिसिन डिपार्टमेन्ट चिफ भएर काम गरिरहेका छन् ।
मन्त्री ढकालले उपकुलपति नियुक्तीको प्रक्रिया सुरु भएदेखि नै डा गिरीलाई उपकुपति बनाउने तयारी गरेका थिए।
उपकुलपति नियुक्तिका लागि प्रतिष्ठानका सहकुलपतिसमेत रहेका मन्त्री ढकालकै संयजकत्वमा उपकुलपति छनोट समिति बनाइएको थियो। समितिमा अर्थ मन्त्रालयका सचिव डा राजन खनाल र योजना आयोगका सदस्य उषा झा सदस्य थिए।