एजेन्सी – सन् २०२० सुरु हुनुभन्दा ठिक एक दिन पहिले चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणको १०० दिन पुरा भएको छ। अहिले यो रोग महामारीको रुपमा विश्वभर फैलिएको छ।
चीनले ३१ डिसेम्बरमा विश्व स्वास्थ्य संगठनलाई पहिलो पटक यो रोगको बारेमा जानकारी गराएको थियो। त्यो बेलामा चीनमा ३४ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको थियो। पछिल्लो १०० दिनमा यो संख्या ४५ हजार गुणले बढेको छ।
अहिलेसम्म संसारभर ९५ हजार भन्दाबढी मानिसको मुत्यु भइसकेको छ। संसारभर १६ लाख ५ हजार ५ सयभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। विश्वका
अरबौँ मानिस घरभित्र बस्न बाध्य छन्। विश्व अर्थतन्त्र डामडोल छ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी इटाली प्रभावित भएको छ। इटालीमा ५५ दिन अगाडि (२३ फेब्रुवरी २०२०) मा तीन जनाको मात्र मुत्यु भएकोमा यो संख्या बढेर १८ हजार दुई सय ७९ पुगेको छ। जुन विश्वको अरु देशभन्दा सबैभन्दा बढी मुत्यु हुनेको संख्या हो।
कोरोना भाइरस सुरु भएदेखि अहिलेसम्म केके भयो ?
३१ डिसेम्बर २०१९
पहिलो दिन ३४ जना कोरोना भाइरसका संक्रमित देखिएपछि चीनले विश्व स्वास्थ्य संगठनलाई पहिलो पटक नयाँ किसिमको भाइरसको बारेमा जानकारी गराएको थियो।
९ जनवरी, २०२०
१० औं दिन पहिलो पटक चीनमा एक जनाको मुत्यु भयो। तर चीनले यसबारे पछि मात्र जानकारी गरायो।
२३ जनवरी २०२०
२४ औं दिनमा ६५४ जना संक्रमित बिरामी भेटिएप्छि चीनको हुबेई प्रान्तको राजधानी वुहानमा लकडाउन गरिएको थियो।
२४ जनवरी, २०२०
२५ औं दिनमा नेपालमा पहिलो पटक एक व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो। उनी चीनको वुहान युनिभर्सिटीमा अध्ययनरत विद्यार्थी थिए। अहिलेसम्म नेपालमा ९ जनामा कोरोना संक्रमण भेटिएकोमा एक व्यक्ति निको भइसकेका छन्।
३१ जनवरी २०२०
३२ औं दिन अर्थात् ठीक एक महिनापछि बेलायतमा पहिलो पटक कोरोना संक्रमित व्यक्ति भेटिए।
११ फेब्रुवरी २०२०
४३ औं दिनमा विश्व स्वास्थ्य संगठनले यो रोगको नाम कोभिड– १९ राख्यो। यस दिनसम्म कोरोना संक्रमितको संख्या ४४ हजार ८ सय २ थियो।
१४ फेब्रुवरी २०२०
४६ औं दिन अफ्रिका महादेशमा पहिलो पटक कोरोना भाइरस संक्रमित व्यक्ति फेला परे। सोहीदिन फ्रान्समा पनि पहिलो पटक यही रोगबाट एक व्यक्तिको ज्यान गएको थियो।
२३ फेब्रुवरी २०२०
५५ औं दिनमा इटालीमा कोरोना भाइरसको संक्रमणको कारणले तीन जनाको मुत्यु भएको थियो भने विश्वभर संक्रमित हुनेको संख्या ७८ हजार ८ सय ८५ पुगेको थियो।
८ मार्च २०२०
६९औं दिनसम्म आइपुग्दा कोरोना संक्रमितको संख्या एक लाखमाथि पुगेको थियो। तथ्यांक अनुसार यसदिनसम्म विश्वभर १ लाख ९ हजार ८ सय २१ जना व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका थिए।
११ मार्च २०२०
७२ औं दिनमा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड १९) लाई महामारीको घोषणा गरेको थियो।
१५ मार्च २०२०
७६ औं दिनमा स्पेनमा एकै दिन १०० जनाको यही रोगबाट मुत्यु भएको थियो।
२४ मार्च २०२०
८५ औं दिनमा नेपालमा देशव्यापी साताव्यापी लामो लकडाउन लागू गरिएको थियो। सरकारले २३ मार्चका दिन लकडाउन गर्ने निर्णय गरेको थियो। अहिले सरकारले अप्रिल १५ सम्म लकडाउन लम्ब्याएको छ।
२५ मार्च २०२०
८६औँ दिनमा भारतमा पहिलो पटक देशभर लकडाउन घोषणा गरिएको थियो। सोहि दिन अमेरिकाले २० खर्ब डलरको आपतकालीन राहत कार्यक्रम घोषणा गरेको थियो।
२७ मार्च २०२०
८८औं दिनमा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनमा कोरोना संक्रमण भएको पुष्टी भयो।
२ अप्रिल २०२०
९४ औं दिनसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या १० लाख माथि पुगेको थियो। जोन्स हप्किन्स युनिभरर्सिटीका अनुसार यस दिनसम्म १० लाख १३ हजार ३ सय २० जना संक्रमित भएका थिए।
८ अप्रिल २०२०
१०० औं दिनसम्म कोरोनाबाट विश्वका १५ लाख ११ हजार १ सय ४ व्यक्ति संक्रमित भएका थिए भने विश्वभर ८९ हजार भन्दा बढी मानिसले ज्यान गुमाएका थिए।
(स्रोतः जोन्स हप्किन्स युनिभर्सिटी)