कोरोना भाइरसको संक्रमण फैलिएसँगै यसका विषयमा धेरै भ्रमहरु समेत फैलिरहेको छ। गलत जानकारीका कारण मानिसहरुमा थप समस्या निम्तिने खतरा समेत बढेको छ। यही कुरालाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनले विश्वभर फैलिएको कोरोनाका विषयका भ्रमलाई चिर्ने गरी तथ्य सार्वजनिक गरेको छ।
भैरहवास्थित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरका चिफ मेडिकल डाइरेक्टर तथा नेत्र रोग विशेषज्ञ डा ज्ञानेन्द्र लामिछाने विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको भ्रम र तथेयलाई नेपाली रुपान्तरण गरेका छन्। तल उल्लेखित सम्पूर्ण कुरा विश्व स्वास्थ्य संगठनको आधिकारिक पेजमा रहेको 'कोरोना भाइरस (कोभिड -१९) एड्भाइस फर पब्लिक: मिथ बस्टर'को नेपाली रुपान्तरण हो।
भ्रम १) गर्मीमा बस्दा, तातो पानी खाँदा वा तातो पानीले नुहाउदा कोरोनाको जोखिम कम हुन्छ।
तथ्य - जाडो गर्मी, तातो चिसो सबै मौषममा कोरोनाको जोखिम उत्तिकै रहन्छ। गर्मी हुने देशहरुमा पनि कोरोना फैलिरहेको छ। कोरोनाबाट जोगिन हात धुने, सामाजिक दुरी कायम गर्ने गरौं। तातो पानी पिउँदैमा वा वा नुहाउदैमा जोखिम कम हुदैन। त्यस्तै घाँटीको भाइरस तातोपानी पिउनाले पेटतिर जाने पनि हुदैन। तातोपानी पिउनु स्वास्थ्यको हिसाबले पनि राम्रो मानिन्छ, रुघाखोकीबाट आराम पक्कै पाउन सकिन्छ तर कोरोना संक्रमण र तातोपानीको कुनै सम्बन्ध छैन।
भ्रम २) एक पटक कोरोना लाग्यो भने जीवन भरी त्यो भाइरस शरीरमै बस्छ?
तथ्य - धेरै जसो (८० प्रतिशतभन्दा बढी) कोरोना लागेको व्यक्ती सामान्य लक्षणभै निको हुन्छ्न्। १५ प्रतिशत सिरियस अवस्थामा जान्छ्न् र त्यो १५ मध्ये पनि ४५ प्रतिशत निको हुन्छ्न्। रोग निको भएसँगै भाइरस शरीरमा जीवनभरी बस्दैन तर शरीर बाहिर विभिन्न चिजमा केही अवधीसम्म रहन सक्ने बताइएको छ।
भ्रम ३) मलाई कोरोना छ कि छैन भनेर घरमै बसेर थाह पाउने बिधी छ? १० सेकेन्डसम्म श्वास रोकेर नखोकी बस्न सके आफूलाई कोरोना छैन भनेर बुझ्नु पर्छ।
तथ्य - यो गलत बुझाइ हो। कोरोना छ छैन भनेर कन्फर्म हुने एक मात्र उपाय प्रयोगशाशला परीक्षण नै हो।
भ्रम ४) मदिरा वा अन्य त्यस्तै चिज वा रक्सी सेवन गर्नाले कोरोनाबाट जोगिन सकिन्छ?
तथ्य - एकदम गलत बुझाइ हो। बरु यसले झन थप जटिलता ल्याउन सक्छ।
भ्रम ५) कोरोना भाइरस लामखुट्टे र झिंगाबाट पनि सर्छ?
तथ्य - लामखुट्टेबाट फैलने कुनै प्रमाण छैन। ल्यान्सेट नामक एक मेडिकल जर्नलले कोरोना संक्रमित मानिसको दिशामा भाइरस केही समय जिवित रहने र झिंगाले बोक्न सक्ने भनेर लेखिएको छ। तर मानिसमा सर्ने कुनै आधार र प्रमाण आजसम्म भेटिएको छैन। त्यसैले अहिलेसम्म यो भ्रम मात्र हो। कोरोना सर्ने भनेको संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्यु गर्दा र हातको माध्यमबाट हो।
भ्रम ६) थर्मल स्क्यानरले कोरोना पत्ता लगाउन सकिन्छ?
तथ्य - थर्मल स्क्यानरले शारीरको तापक्रम मात्र नाप्ने हो। ज्वरो कोरोनाको एक लक्षण हुनाले यो मात्र जाँच गर्ने हो। कोरोना संक्रमित भएपछि पनि ज्वरो आउन २ देखि १० दिनसम्म पनि लाग्न सक्छ। कोरोना पुष्टि गर्ने प्रयोगशाला परीक्षण मात्र एक माध्यम हो।
भ्रम ७) शरीरमा मदिरा वा क्लोरिन झोल छर्कँदा पनि कोरोना लाग्दैन।
तथ्य - गलत। बरु उल्टै छाला, आँखा र मुखमा हानी गर्न सक्छ।
भ्रम ८) निमोनियाको लागि लगाइने खोपले कोरोनाबाट बचाउँछ?
तथ्य - गलत। यो कोरोना भाइरस एकदम नयाँ हो त्यसैले नोबल कोरोना भाइरस भनिएको छ। यसको लागि आफ्नै खोप चाहिन्छ। जुन अनुसन्धानको क्रममा छ। निमोनिया, इन्फ्लूएन्जा वा फ्लूको खोपले कोरोनाविरुद्ध कुनै सुरक्षा हुँदैन।
भ्रम ९) नियमित रुपले नुन पानीले नाक सफा गर्ने वा कुल्ला गर्दा कोरोनाबाट जोगिन्छ?
तथ्य - सामान्य मौषमी रुघाखोकीमा पक्कै पनि केही राहत हुन्छ तर यसो गरेर कोरोनाबाट बच्न सकिन्छ भन्नु गलत हो।
भ्रम १०) लसुन, प्याज खानाले कोरोनाबाट बच्न सकिन्छ?
तथ्य - लसुन, प्याजमा एन्टीमाइक्रोबियल गुण (संक्रमणसँग लड्ने क्षमता) हुन्छ तर यसले कोरोनाबाट बचाउँछ भन्ने कुरा गलत हो।
भ्रम ११) कोरोनाले खाली वृद्धवृद्धालाई मात्र असर गर्छ?
तथ्य - कुनै पनि उमेरका मानिस, महिला वा पुरुषलाई यसले असर गर्न सक्छ। तर वृद्धावस्थाका व्यक्ति विशेषगरी मधुमेह, अनियन्त्रित रक्तचाप, दम भएका व्यक्ति अलि बढी जोखिम समूहमा पर्छन्।
भ्रम १२) के एन्टिवायोटिक कोरोना रोकथाम र उपचारमा प्रभावकारी हुन्छ?
तथ्य - एन्टिवायोटिक औषधि व्याक्टेरियाको लागि हो। कोरोना एक भाइरस हो त्यसैले एन्टिवायोटिकको कुनै भूमिका हुँदैन। तर भाइरस संक्रमण भएको व्यक्तिलाई सँगसँगै व्याक्टेरियाको पनि संक्रमण छ भने त्यतिबेला मात्र त्यो व्याक्टेरियल संक्रमण नियन्त्रण गर्न एन्टिवायोटिकको भूमिका हुन्छ।
भ्रम १३) के कोरोनाकोविरुद्द कुनै विशेष औषधि छ त?
तथ्य - अहिलेसम्म त छैन। तर केही औषधिहरु विभिन्न चरणमा अनुसन्धान जारी छ।
भ्रम १४) हाइड्रोक्सिक्लोरोकुइन औषधि कोरोनाको बचाउ र उपचारमा प्रभावकारी छ?
उत्तर - अहिलेसम्म यसका साथै अरु धेरै औषधिहरु अनुसन्धानकै क्रममा छ। त्यसैले चिकित्सकको सल्लाहबीना यो सेवन गर्नु घातक हुन सक्छ विषेश गरि मुटुका रोगिले।
भ्रम १५) फाइबजी नेटवर्क (5G network)ले कोरोना फैलाएको हुनसक्छ?
तथ्य - भाइरस कुनै पनि विकिरण, मोबाइल नेटवर्कबाट फैलन र सर्न सक्दैन। कोरोना भाइरस कुनै संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा निस्कने थुकका छिटाबाट सर्छ। त्यस्तै संक्रमित सतहमा छोए लगत्तै मुख, नाक वा आँखामा हातल लगेमा वा छोएमा सर्छ।
अन्त्यमा कोरोनाको बारेमा आधिकारिक ठाउँ, माध्यमबाट मात्र जानकारी लिने गर्नुपर्छ। सजग रहौं तर आतंकित नबनौं। यो अफ्ठेरो समयमा हाम्रो सावधानी, सुझबुझ र धैर्यता नै यो महामारीबाट पार पाउने हतियार हो।