जगदिश बुढा
जुम्ला- कालिकोेटको सिमानामा राखिएको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी नै असुरक्षित छन्। जनताको स्वास्थ्य जाँच गर्न डेस्कमा बसेका उनीहरु निकै असुरक्षित भएको बताउँछन्। हेल्थ डेस्क स्थापना भएको एक सातासम्म निकै व्यवस्थित रुपमा चल्यो। सबैको नजर हेल्थ डेस्कमै जान्थ्यो। स्वास्थ्यकर्मी आफ्ना औजारसहित बस्थे। सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहन्थ्यो। तर अहिले न हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी सुरक्षित छन्। न त पर्याप्त मात्रमा सुरक्षाकर्मी नै।
पहिलो चरणमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको टोली हेल्थ डेस्कमा खटियो। त्यो समयमा निकै चहल पहल रह्यो। तर स्थानीय तहले स्वास्थ्यकर्मी खटाउन थालेपछि हेल्थ डेस्क नाम मात्रका छन्। स्वास्थ्यकर्मीहरु भन्छन्, ‘यो हेल्थ डेस्कमा न स्वास्थ्यकर्मी सुरक्षित छौँ, न त स्वास्थ्य चेकजाँच गर्न आउने स्थानीय। उल्टै आफ्नो् स्वास्थ्य असुरक्षित बन्दै जाने खतरा छ।’
डेस्कमा अहिले जुम्लाको चन्दननाथ नगरपालिका र सिँजा गाउँपालिकाबाट स्वास्थ्यकर्मी खटिएका छन्। उनीहरुसंग मेडिकल मास्क छैन। कपडाको मास्क प्रयोग गरिरहेका छन्। पर्याप्त ग्लोब्स छैनन्। खानपिनको राम्रो व्यवस्थापन छैन। सेनिटाइजर सकिएको छ।
एक स्वास्थ्यकर्मीले भने, ‘हरेक स्थानीय तहले औषधि उपकरण खरिद गरेको खबर सुन्छौँ। तर हेल्थ डेस्कमा चरम समस्या छ।’ स्वास्थ्यकर्मीको व्यवस्थापन देखेर स्थानीयले समेत हेप्न थालेका छन्। स्वास्थ्यकर्मीले भनेको बटुवाले समेत टेर्दैनन्।'
दिउँसो खुलेआम मास्क नलगाएर भिडभाड गर्छन्। साँझतिर मदिरा सेवन गरेर स्वास्थ्यकर्मी माथि नै झगडा गर्न खोज्छन्। एक जना मात्रै सुरक्षाकर्मी हुँदा स्वास्थ्यकर्मीले सुरक्षाको अनुभुति समेत गर्दैनन्।
भारत हुदै सुर्खेत नेपालगंजबाट आउजाउ गर्ने मुख्य नाका नै नाग्म बजार हो। हेल्थ डेस्क व्यवस्थापनमा चरम समस्या देखिएको स्वास्थ्यकर्मीहरु बताउँछन्। पछिल्लो समयमा नाग्म हेल्थ डेस्क फितलो बनिरहेको स्थानीय बताउँछन्।
‘बिचरा स्वास्थ्यकर्मीसंग आवश्यक सुरक्षाकवज नै छैन, स्थानीय जयविर नेपालीले भने,‘आफु असुरक्षित भएर पनि चेकजाँच गर्नु पर्दाको पिडा निकै छ।’ नेपाली सेनाको टोली दिउसो अबेर जान्छ। एक दुइ घण्टा बसेर फर्किहाल्छ। तत्काल हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक व्यवस्थापन गर्न माग गरिएको छ।
‘हामीले भोगेका समस्या पछिल्लो आउने टोलीलाइ शेयर गछौँ, स्वास्थ्यकर्मी भन्छन्, ‘हेल्थ डेस्कमा खटिन पनि डराउनु पर्ने अवस्था छ। जबसम्म जीवन सुरक्षाको ग्यारेण्टी हुदैन। तबसम्म राम्रोसंग चेकजाँचको काम पनि अघि बढ्नेवाला छैन।’
हेल्थ डेस्कबाट अहिले दैनिक ६० जना भन्दा बढिको चेकजाँच भइरहेको छ।
कालिकोट तिरबाट आउनको मात्र चेकजाँच भइरहेको छ। जिल्ला भित्र आवतजावत गर्नेको खासै चेकजाँच हुँदैन। पटक पटक जिल्ला प्रशासन कार्यालय जुम्लालाई हेल्थ डेस्कको व्यवस्थापनका लागि आग्रह गरिएको स्वास्थ्यकर्मी बताउँछन्।
पटक पटक समस्या संवोधनका लागि प्रशासन कार्यालयले आश्वासन दिँदै गएको तर अहिले अवस्था झन जीर्ण बन्दै गइरहेको उनीहरुको गुनासो छ।
जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकाटाले सबै प्रशासनले नै गर्दियोस भन्ने चाहानाका कारण हेल्थ डेस्क व्यवस्थापन हुन नसकेको बताउँछन्। उनले भने, ‘कर्मचारी खटाइदिने, मास्क बाँड्दिने प्रशासनको काम होइन। सम्बन्धित स्थानीय तहले जिम्मेवारी पुरा गर्न सक्नुपर्छ।'
सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले हेल्थ डेस्कमा खटिएका कर्मचारी असुरक्षित रहेको स्वीकारे। उनले भने, ‘स्थानीय सरकार छन्। स्वास्थ्य कार्यालय, प्रतिष्ठान छ। तर पनि स्थानीय प्रशासनको भर पर्नु सान्दर्भिक होइन।' विपद व्यवस्थापनको बैठक बोलाएर समस्या समाधानका लागि पहल थालिने उनले बताए ।
हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले आफूलाई क्वारेन्टाइनको व्यवस्थापन गर्न नसकेको बताउँदै यहाँ खटिने सबै स्वास्थ्यकर्मीलाइ समान रुपमा हेरिनु पर्नेमा जोड दिए। लामो समय देश लकडाउन हुने अवस्था आएमा स्वास्थ्यकर्मीले यही व्यवस्थापनमा खटिन नसक्ने चेतावनी दिएका छन्।