काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पता सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनलाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि तयारी नगरेको स्पष्ट पारेको छ।
मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा डा पुनलाई कारबाही बारे मिडियामा आएका सूचना तथा समाचारप्रति ध्यानाकर्षण भएको बताउँदै यस्तो स्पष्टीकरण गरेको हो।
यसअघि मन्त्रालयको फेसबुक पेजमा पनि उनीमाथि सामान्य छलफल गर्नका लागि मात्र बोलाइएको र कारबाहीको कुनै तयारी नगरेको दाबी गरेको थियो।
'डा. शेर बहादुर पुनलाई मन्त्रालयमा बोलाइएकोमा केही पत्र-पत्रिका तथा सामाजिक संजालमा सत्य तथ्य बंग्याई माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूको नाम समेत मुछि अनर्गल तथा दुष्प्रचार गर्ने कार्य भएकोमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,' फेसबुक पेजमा लेखिएको थियो।
'जुनसुकै स्वास्थ्यकर्मीलाई आवश्यकतानुसार मन्त्रालयबाट खटाउने कार्य भैरहेको छ र यस्ता स्वास्थ्यकर्मीलाई सरकारले सतप्रतिशत भत्ता र २५ लाखको बिमा समेतको व्यवस्था गरेको छl यस सन्दर्भमा सत्य तथ्य नबुझिकन अनर्गल प्रचार प्रसार वा लेख लेखाउने कार्य नगर्न नगराउनुहुन सचेत गराइन्छ,' मन्त्रालयको फेसबुक पेजमा भनिएको थियो।