जगदिश बुढा
जुम्ला - जिल्ला जनस्वस्थ्य सेवा कार्यालय जुम्लाको टोली गाउँमा पुग्दा भारतबाट भित्रिएकाहरु र्यापिड परीक्षण गर्न आतुर देखिन्थे। उनीहरु स्वास्थ्यकर्मीको टोली पुग्नु भन्दा अगावै भेला भइसकेका हुन्थे। उनीहरुमा एउटै मात्र चाहाना हुन्थ्यो, ‘छिटो कतिबेला र्यापिड परीक्षण गरौँला र रिर्पोट हेरौँला। अनि ढुक्कका साथ घर फर्कौला।’
गाउँमा अहिले भारतबाट फर्किएकाहरुलाई हेर्ने दृष्टिकोेण निकै फरक छ। उनीहरुलाई गाउँमा बस्न असजिलो भइरहेको छ, एक जना भारतबाट फर्किएका युवाले भने, ‘र्यापिड परिक्षणको रिर्पोट आएपछि ढुक्कसंग गाउँमा बस्न पाइन्थ्योकी? भनेर पनि परीक्षणको पर्खाइमा बसेका थियौँ। जनस्वास्थ्य कार्यालयको टोली पुग्दा खुसी भयौँ।’
पछिल्लो समयमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाको टोली गाउँगाउँमा पुगेर र्यापिड परीक्षण गरिरहेको छ। हाल सम्म १ सय २९ जनाको र्यापिड परीक्षण गरिएको छ। सबैको रिर्पोट नेगेटिभ आएको जनस्वास्थ्य प्रमुख सापकोटा बताउँछन्।
चैत १ गते देखि भारतबाट आएका र १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका लागि पहिलो चरणमा र्यापिड परीक्षण गरिएको थियो। जनस्वास्थ्य प्रमुख सापकोटा भन्छन्,‘ भारबाट आएकाहरु र्यापिड परीक्षण गर्न इच्छुक छन्। उनीहरुका परिवार पनि संभावित जोखिमबाट बच्न चाहन्छन्।’
जनस्वास्थ्य कार्यालयका अनुसार तातोपानीमा ३७ जना, तिला १५ जना, हिमा १८, सिँजामा ४, कनकासुन्दरीमा २५ जना, गुठिचौर १८ जना र चन्दननाथ नगरपालिकामा ९ जनाको र्यापिड परीक्षण गरिएको थियो।
गाउँमै र्यापिड परीक्षण गर्न पाउँदा स्थानीय उत्साहित छन्। हरेक बाहिरबाट भित्रिएका व्यक्तिले अनिवार्य परीक्षण गर्नु पर्ने मान्यता गाउँमा स्थापित भइसकेको छ। अर्को चरणमा क्वारेन्टाइन पुरा गरेका र शंकास्पद व्यक्तिको र्यापिड परीक्षण गर्ने तयारी भइरहेको छ।
थुनुवा र प्रहरीको रिर्पोट नेगेटिभ
जिल्ला प्रहरी कार्यालय जुम्लाले हिरासतमा रहेका थुनुवा र बाहिर ड्युटीमा खटिने प्रहरीको र्यापिड परीक्षण गरेको छ। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको मेडिकल टोलीले र्यापिड परीक्षण गरेको थियो। परीक्षणका क्रममा सबैको रिर्पोट नेगेटिभ आएको छ।
प्रहरीको हिरासतमा रहेका तीन जना थुनुवा र चार जना सिभिल पोशाकमा बाहिर ड्युटीमा खटिएका प्रहरीको र्यापिड परीक्षण गरिएको हो। जनस्वास्थ्य प्रमुख कृष्ण प्रसाद सापकोटाले भने, ‘सबैको रिर्पोट नगेटिभ आएको छ।’