प्रतीकात्मक तस्बिर
काठमाडौं - कोरोनाको जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरिरहेको कन्ट्याक ट्रेसिङको कामलाई थप सुरक्षित र सहज बनाउन नेपालका विज्ञहरुले नयाँ एपको विकास गरेका छन्।
नेपालका जनस्वास्थ्य विज्ञ, वैज्ञानिक, प्रोफेसर, मेडिकल डाक्टर, पिएचडी डाक्टर र आइटी विज्ञहरुको ३० जनाको समूहले उक्त एपको विकास गरेका हुन्। डेढ महिना बढी समय लगाएर निर्माण गरिएको एप केही दिनमै सरकारलाई हस्तान्तरण गरिने उक्त टोलीमध्येका एक उपेन्द्रराज ढकालले जानकारी दिए।
उनले भने, ‘सरकारले गरिरहेको कन्ट्याक ट्रेसिङको कामलाई थप सुरक्षित र सहज बनाउनु नै हाम्रो उद्देश्य हो। हाम्रो काम अन्तिम चरणमा छ। केही दिनमै सरकारलाई यो एप हस्तान्तरण गर्छौ।’
उक्त एप विश्वभरी नै सुरक्षित रुपमा प्रयोग गर्न सकिने र ८० प्रतिशतसम्म कार्यभार घट्ने विज्ञ टोलीको दाबी छ। हाल बजारमा उपलब्ध लाईभ ट्र्याकिङ भन्दा बढी रियल टाइम ट्र्याकिङ र रियल टाइम कन्ट्याक्ट ट्रेसिङ गर्न सक्ने ढकालले बताए।
एप मार्फत गरिएको कन्ट्याक ट्रेसिङमा राखिएका विभिन्न तथ्यांक तथा जानकारी सुरक्षित रुपमा सरकारसँग रहने उनले जानकारी दिए।
उनले भने, ‘कन्ट्याक ट्रेसिङ गर्दा विभिन्न जानकारी र डाटा उल्लेख गर्नुपर्छ। ती सबै सुरक्षित रुपमा राख्न महत्वपूर्ण हुन्छ। यो एप मार्फत गरिएको कन्ट्याक ट्रेसिङमा भने सबै जानकारी सुरक्षित रहन्छन्।’
यो एप मार्फत कन्ट्याक ट्रेसिङ गर्दा विभिन्न समयमा र मितिमा आफूले भेटेका मानिसको लक्षण र आवश्यकता अनुसार अन्य जानकारी पनि तुरुन्तै लिन सकिन्छ। एपका प्रयोगकर्ता कुनै व्यक्तिले लक्षण सहितको डाटा भरेपछि सम्बन्धित डाक्टरले नै उक्त बिरामीको लक्षणको जाँच गरी आश्वश्यक परामर्श दिन सकिने ढकालले जानकारी दिए।
सम्बन्धित व्यक्तिले चाहेमा कन्ट्याक ट्रेसिङ प्रणालीले सँगै भेटेका व्यक्तिहरुको स्वास्थ्य विवरणको आधारमा आफूलाई संक्रमणको खतरा कतिको छ भन्ने समेत जानकारी पाउन सक्छन्।
रियल टाइल कन्ट्याक ट्रेसिङ गर्दा स्थान र अवस्थाको बारेमा केही सकेन्डमै जानकारी प्राप्त गर्न सकिने उनले बताए ।