काठमाडौं - डा गोविन्द केसीले यातायात सेवा सुरु नहुँदासम्म सरकारी गाडीमा बिरामीलाई अस्पताल पुर्याउने विशेष व्यवस्था गर्न सरकारसँग अपिल गरेको छ।
लकडाउनका कारण यातायात सेवा प्रभावित भएको भन्दै सरकारी गाडीमा भएपनि बिरामीलाई अस्पताल पुर्याउने व्यवस्था गर्न डा. केसीले सरकारसँग अपिल गरेका हुन्। कोरोनाको महामारीको बेलाा संकटमा परेका नागरिकलाई यस किसिमको आकस्मिक सेवा सुनिश्चित गर्नु राज्यको जिम्मेवारी भएको डा केसीले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘यो अवस्थामा सरकारी गाडीहरु अहिले निस्क्रिय छन् । त्यसैले यातायात सेवा सुरु नहुन्जेलका लागि ती सरकारी गाडीहरुमा बिरामीलाई अस्पताल ल्याउने विशेष व्यवस्था गर्न सम्बन्धित मन्त्रालयहरुलाई अपिल गर्दछु ।’
बिरामीहरु महँगो भाडा तिरेर फलोअपमा आउन नसक्दा उनीहरु उपचारबाट बञ्चित भइरहेको डा. केसीले बताएका छन् । समयमै उपचार नपाउँदा निको हुने समस्या पनि जटिलता भई बिरामीको मृत्यु समेत हुन सक्ने भन्दै यस तर्फ ध्यान दिन डा केसीको माग छ ।