काठमाडौं- पछिल्लो समय औषधि, सर्जिकल सामग्री र मेडिकलजन्य सामग्रीको मूल्य बढाएर व्यवसायीहरुले कालोबजारी गर्न थालेका घटना दैनिकजसो सार्वजनिक हुन थालेका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पछिल्लो ५ दिनमा ५ वटा औषधि र सर्जिकल सामग्री बेच्ने पसललाई कारबाही गरेको छ।
गत शुक्रबार भक्तपुर लोकन्थलीमा रहेको समिट हस्पिटलको फार्मेसीले बढी मूल्यमा सर्जिकल मास्क बिक्री गरेको पाइएपछि विभागले २ लाख रुपैयाँ जरिवाना गरेको थियो। सोही दिन सेनिटाइजरमा कालोबजारी गर्ने नेपालगन्जको हिल्स मेडि सप्लायर्सलाई पनि २ लाख जरिवाना गराइएको थियो।
विभागले सोमबार गरेको अनुगमनको क्रममा सर्जिकल सामग्रीको व्यापार गर्ने तीनवटा पसलले बढी मूल्यमा सामान बेचेको र कालोबजारी गरेको भेटियो। जसमध्ये त्रिपुरेश्वरमा रहेको शिरिष सप्लायर्सले ज्वरो नाप्ने थर्मल गन बढी मूल्यमा बिक्री गरेको र त्रिपुरेश्वरमै रहेको इन्टरनेशनल प्याथो साइन्टिफिक ट्रेडर्सले डिस इन्फेक्सनको काममा प्रयोग हुने किटनाशक औषधि सोडियम हाइपोक्लोराइड बढी मूल्यमा बिक्री गरेको पाइएपछि ती दुइवटै पसललाई जनही २–२ लाख रुपैयाँ जरिवाना गरिएको थियो।
त्यस्तै त्रिपुरेश्वरमै रहेको गौतम इन्टरनेशनल प्रालिलाई पनि ४० हजार रुपैयाँ जरिवाना तिराइएको छ भने न्यू हिमाल सर्जिकल हाउसलाई खरिद बिल र बिक्री बिलसहित ३ दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ।
विभागले मंगलबार गरेको अनुगमनका क्रममा बागबजारको रुनो फार्मेसी प्रालिले पनि अनुचित व्यापारिक क्रियाकलाप गरेको आशंका गरिएपनि पुष्टि नभएपछि सचेत गराएर छोडिएको छ।