काठमाडौं - नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ। धरानस्थति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरीएको परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पिसिआर परीक्षणका क्रममा २४, ६० र ७२ वर्षका तीन जना पुरुषमा कोरोना पोजेटिभ देखिएको डा देवकोटाले जानकारी दिए। उनीहरु क्वारेन्टाइनमा रहेकाले उपचारका लागि अस्पताल ल्याइरहेको उनले बताए।
मन्त्रालयका अनुसार आज देखिएका तीन जना पनि उदयपुरको एक मस्जिदमा बसेकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन्। संक्रमित तीन जना नै उदयपुरको त्रियुगा नगरपालिका भुल्केका व्यक्तिहरु रहेको बताइएको छ। यो संगै उदयपुरमा संक्रमित हुनेको संख्या २७ पुगेका छ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार यो सहित संक्रमण देखिएको संख्या नेपालमा ४५ पुगेको छ। यी मध्ये ७ जना उपचारपछि निको भइसकेको उनले जानकारी दिए।
कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ३६ जनाको नमूना परीक्षण भएको मन्त्रालयले जनाएको छ।
कोरोनाको आशंकामा परीक्षण हुनेको संख्या ४० हजार ४ सय ३१ पुगेको छ। पिसिआरबाट ९ हजार ११ र आरडिटीबाट ३१ ह्जार ४ सय २० जनाको नमूना परीक्षण भएको हो।
३५ संक्रमित हाल विभिन्न अस्पतालमा उपचाररत छन्। पाटन अस्पतालमा २, बागलुङ अस्पतालमा १, भरतपुर अस्पतालमा २, धनगढीमा २, विरगञ्जमा ४ र विराटनगरमा २४ जना संक्रमितको उपचार भइरहेको छ। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।
सबै जिल्लामा आरटिडी परिक्षण सुरु गरेको मन्त्रालयले प्रदेश १ मा ३ हजार ९७, प्रदेश २ मा ३ हजार ९ सय २५, वागमतिमा ५ हजार ९ सय १५, गण्डकीमा ४ हजार २ सय ७२, प्रदेश ५ मा २ हजार ५ सय ९६, कर्णालीमा ४ हजार ३ सय ८ र सुदुरपश्चिम प्रदेशमा ७ हजार ३ सय ७ जनाको नमूना परीक्षण गरेको छ।
हाल काठमाडौं उपत्यकामा ३ र बाहिर ९२ गरी जम्मा ९५ जना आइसोलेसनमा छन्। ८ हजार ५ सय ९५ जनालाइ क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ ।