काठमाडौं- टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरसको संक्रमणपछि उपचाररत धादिङका युवा निको भएपछि डिस्चार्ज भएका छन्।
उनलाई अस्पतालले आज डिस्चार्ज गरेको हो। बुधबार नै उनलाई डिस्चार्ज गर्ने तयारी थियो। तर धादिङ घर भएका ती युवाको स्थानीय तहबाट कोही नआएपछि डिस्चार्ज हुन सकेका थिएनन्।
लकडाउनका कारण धादिङ पठाउन समस्या हुने भएपछि बिहीबार धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले ती युवालाई लिएर गएका छन्।
शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा सागर राजभण्डारीका अनुसार उनलाई धादिङ अस्पतालको क्वारेन्टाइनमा १४ दिन राख्ने गरी डिस्चार्ज गरिएको हो।
अस्पतालमा एक महिनादेखि उपचाररत उनी कोरोना भाइरसमुक्त भएपछि डिस्चार्ज भएका हुन्।
युएईबाट आएका धादिङका ती युवालाई चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
उनी चैत ६ गते (मार्च १९) मा युएईको सारजाँहबाट एयर अरेवियाको उडानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए।
३२ वर्षिय ती युवा चैत ६ गते नेपालमा आएपनि १० गते मात्र टेकु अस्पताल पुगेका थिए। अस्पताल पुगेका उनको नमुना परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको हो।
तर, उक्त अवधिमा उनी धादिङ घरमा भने गएका थिएनन्।