काठमाडौं - नेपालमा थप २ जनामा कोरोना संक्रमण देखिएको छ। यो सहित नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ४७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उदयपुरकी ५५ वर्षिया महिला र जनकपुरका १४ वर्षिय एक जनामा कोरोना संक्रमण देखिएको हो।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार यो सहित संक्रमण देखिएको संख्या नेपालमा ४७ पुगेको छ। यी मध्ये ९ जना उपचारपछि निको भइसकेको उनले जानकारी दिए।
बुधबार पनि तीन जनामा संक्रमण देखिएको थियो। बुधबार पिसिआर परीक्षणका क्रममा २४, ६० र ७२ वर्षका तीन जना पुरुषमा कोरोना पोजेटिभ देखिएको डा देवकोटाले जानकारी दिएका थिए।
मन्त्रालयका अनुसार बुधबार देखिएका तीन जना पनि उदयपुरको एक मस्जिदमा बसेकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन्। संक्रमित तीन जना नै उदयपुरको त्रियुगा नगरपालिका भुल्केका व्यक्तिहरु रहेको बताइएको छ। यो संगै उदयपुरमा संक्रमित हुनेको संख्या २८ पुगेका छ।
कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ५ जनाको नमूना परीक्षण भएको छ। यो सँगै नेपालमा कोरोनाको परीक्षण हुनेको संख्या ४३ हजार ७ सय २२ जना पुगेको मन्त्रालयले जनाएको छ।
९ हजार १ सय ९९ जनाको पिसिआर र ३४ हजार ५ सय २३ जनाको आरडिटिबाट परीक्षण भएको प्रवक्ता देवकोटाले बताए।
सबै जिल्लामा आरटिडी परिक्षण सुरु गरेको मन्त्रालयले प्रदेश १ मा ३ हजार ५ सय ९२, प्रदेश २ मा ४ हजार ५ सय २९, वागमतिमा ६ हजार १ सय ५५, गण्डकीमा ४ हजार ५ सय ५५, प्रदेश ५ मा २ हजार ७ सय ५६, कर्णालीमा ४ हजार ७ सय ३५ र सुदुरपश्चिम प्रदेशमा ८ हजार २ सय १ जनाको नमूना परीक्षण गरेको छ।
काठमाडौं उपत्यकामा ४ र बाहिर ८२ गरी कुल ८६ जना आइसोलेसनमा भर्ना भएका छन् । १० हजार ५ सय ७३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।