दीपक घिमिरे
भैरहवा- स्वास्थ्यकर्मीलाई पीपीई लगाएरै भएपनि रुपन्देहीको बुटवल उपमहानगरपालिकाले खोप कार्यक्रम सञ्चालन गरेको छ। आधारभूत स्वास्थ्य अन्तर्गत रहेको नियमित खोप सेवालाई अवरुद्ध हुन नदिन भन्दै उपमहानगरपालिकाले स्वास्थ्यकर्मीलाई पीपीई लगाएर खोप कार्यक्रम सञ्चालन गरेको हो।
कोरोना महामारी विरुद्धको पूर्वतयारीसँगै सुरक्षाको उचित प्रवन्ध मिलाएर खोप कार्यक्रम सञ्चालन गरेको उपमहानगरपालिकाले जनाएको छ। खोपको सुरक्षित कार्यक्रम सञ्चालन गर्न उपमहानगरपालिकामा रहेका नगर स्वास्थ केन्द्र र स्वास्थ्य चौकीमा पीपीई सहितका स्वास्थ्यकर्मीहरु पालो बाँडेर खटिएका छन्।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कुनै पनि हेलचक्र्याई नगर्न र सुरक्षित साथ काम गर्न प्रमुख शिवराज सुवेदीले निर्देशन दिएका छन्। उनले प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन जरुरी बताए।
उनले भने ‘रोग प्रतिरोधात्मक क्षमता समेत बढाउने र बालबालिकाका लागि अति जरुरी रहेको खोपलाई बन्द नगर्न जुनसुकै सुरक्षाको प्रवन्ध मिलाएर भएपनि सुचारु गर्नुपर्छ भनेर लागेका हौं’।
जन्मिने बित्तिकै लगाउनुपर्ने बीसीजीदेखि विभिन्न आठ प्रकारका खोपलाई बुटवलले निरन्तरता दिएको छ। नगरका शहरी स्वास्थ्य केन्द्र, सेमलार स्वास्थ्य चौकी र मोतिपुर स्वास्थ्य चौकीमा वैशाख १० गतेदेखि सुरु भएको खोप १४ गतेसम्म सञ्चालन हुने बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए।
यी स्थानमा खटिने प्राविधिक तथा प्रत्येक खोप सेसनमा जाने स्वास्थ्यकर्मीलाई पीपीई सहितका स्वास्थ्य सुरक्षाका सामाग्रीको व्यवस्था मिलाइएको छ। पीपीई लगाएका दुई जना स्वास्थ्यकर्मीले सुरक्षित तरिकाले खोप लगाउने गरी समय तालिका मिलाइएको र उनीहरुको संयोजन स्वास्थ्य शाखाका प्रमुख कुन्दन कुमार सिंह नेतृत्वमा कर्मचारीहरुले गरेका छन्।
बालबालिकाका लागि अत्यावश्यक र आधारभूत स्वास्थ्य सुरक्षाका लागि खोप अनिवार्य मानिन्छ। बालबालिकालाई निश्चित रोगबाट बचाउन अग्रिम दिइने एन्टिजोनलाई खोप भनिन्छ।
एन्टिजोनहरू रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि निश्चित समयमा उमेर समूह अनुसार बच्चालाई लगाउनुपर्छ। बुटवलमा अहिले लगाउन थालिएका सबै खोप विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त खोप हुन्। यी सबै खोप सरकारले निशुल्क रुपमा उपलब्ध गराएको छ।
बीसीजी, पेन्टा, ओपीभी, एफआइपीभी, पीभीसी, एमआर तथा जेई र टीटी नामका खोप लगाउन सुरु गरिएको छ। यी खोपहरु जन्मिदेखि २३ महिनाको बच्चालाई लगाउनुपर्ने हुन्छ। कतिपय खोप १२ वर्षको बच्चासम्मलाई दिने खालका हुन्छन्। जन्मिएदेखि २३ महिना पुगेका उमेर समूहका बच्चाहरु हाल बुटवलमा झण्डै ६ हजार जना रहेको उपमहानगरको स्वास्थ्य शाखाको तथ्यांकमा छ।
बुटवलमा हाल वर्षभरीमा पाँच सय ५२ खोप सेसनहरु सञ्चालन हुँदै आएका छन्। यस क्षेत्रमा बीसीजी खोप ११ हजार ४०, डीपीटी हेप वी हिव १२ हजार तीन सय ८०, एमआर ११ हजार छ सय ७० तथा टीटी १० हजार ५० र जेई तीन हजार पाँच ११ जनाले वार्षिक रुपमा लगाउने गरेको स्वास्थ्य शाखाको तथ्यांकमा छ।
यस्ता छन् बालबालिकामा लगाइने नियमित खोप
१. बीसीजी : यो खोप जन्मनसाथ लगाईन्छ। यसलाई एक डोज लगाए पुग्छ। यसले क्षयरोग विरुद्ध काम गर्छ। क्षयरोगका साथै भाइरल ज्वरो, श्वासप्रश्वास सम्बन्धी संक्रमण र शरीरको प्रतिरोधी क्षमतालाई मजबुत बनाउँछ।
२. डि.पि.टी. : हेपाटाइटिस बी, एचआइभी स् यो खोप ६, १० र १४ हप्ताको उमेरमा लगाईन्छ। यो तीन पटक लगाउनुपर्छ। यसले भ्यागुते रोग, लहरे खोकी, धनुष्टांकार, हेपाटाइटिस बि, हेमाफिलस बिबाट हुने मेनिन्जाइटिस र निमोनियाबाट जोगाउँछ।
३. पीभीसी : यो खोप जन्मिएको ६ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा दिईन्छ। यो खोप तीन पटक लगाउनुपर्छ। यसले निमोनियाबाट बचाउँछ।
४. पोलियो : पोलियोको खोप ६, १० र १४ हप्ताको उमेरमा लगाईन्छ। यो तीन पटक दिईन्छ। यसले पोलियो माईलाइटिसबाट जोगाउँछ।
५. दादुरा रुबेला यो खोप जन्मिएको ९ महिना देखि एक वर्ष भित्रको उमेरमा लगाउनुपर्छ। यसले बालबालिकालाई दादुरा, रुबेलाबाट जोगाउँछ।
६. टीडी–टीटी : यो खोप गर्भवती महिलाहरुलाई दिइने गरिन्छ। यसले धनुष्टांकार र भ्यागुते रोगबाट बचाउँछ।
७. जे.ई. : यो खोप १२ महिना देखि २३ महिना सम्मका बालबालिकालाई दिईन्छ। यसले जापानिज इन्सेफलाइटिसबाट बचाउँछ।