काठमाडौं- चितवनमा कोरोना उपचाररत २७ वर्षिय युवाले कोरोना जितेका छन्। भरतपुर अस्पतालमा उपचाररत उनी निको भएपछि अस्पतालले उनलाई डिस्चार्ज गर्ने तयारी गरेको छ।
अस्पतालमा उनीसहित उनकी आमा पनि कोरोना उपचार गराइरहेकी छिन्। लगातार दुई पटकको प्रयोगशाला परीक्षणमा ती युवामा कोरोना संक्रमण नदेखिएपछि अस्पतालले उनलाई डिस्चार्ज गर्न लागेको अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए।
तर, ती युवाकी आमाको भने अझै पनि कोरोना पोजेटिभ नै रिपोर्ट आएको छ। आमाको रिपोर्ट नेगेटिभ नै आएपछि छोराले आमासँगै डिस्चार्ज हुन्छु भनेको अस्पतालले जनाएको छ।
राप्ती नगरपालिका–८ का युवा निको भएको औपचारिक जानकारी दिउसो ४ बजे गर्ने तयारी भएको अध्यक्ष अधिकारीले जानकारी दिए।
ती युवकलाई वैशाख ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी बेलायतबाट चैत ३ गते नेपाल आएका थिए। परीक्षणका क्रममा उनकी आमालाई पनि कोरोना संक्रमण देखिएको थियो।
उनीहरु हाल भरतपुर अस्पतालको आइसोलेसन कक्षमा छन्।
'उपचारका क्रममा निको भएपछि ती युवालाई घर पठाउने तयारी भएको तर आमासँगै डिस्चार्ज हुने भन्नुभएकाले अस्पतालकै क्वारेन्टाइनमा राख्ने विषयमा छलफल भएको छ,' डा अधिकारीले भने।