काठमाडौं- कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप एक साता लकडाउन अवधि थप्न सिफारिस गरेको छ। शनिबार बसेको समितिको बैठकले सुरक्षा निकायसँग छलफल गरी लकडाउन थपबारे मन्त्रिपरिषदलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सुरक्षा निकायसँगको छलफल पछि समितिले सिफारिस गरेको हो।
अब आइतबार बस्ने मन्त्रिपरिषद बैठकले लकडाउन समयावधि थपबारे निर्णय गर्ने भएको छ। ‘लकडाउनबारे निर्णय गर्न मन्त्रालयका सचिव र सुरक्षा निकायलाई बेलुकासम्म प्रस्ताव तयार तयार गर्न निर्देशन दिइएको थियो। सुरक्षा निकायसँगको छलफलपछि प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा एक साता लकडाउन थप गर्न सिफासिस गरिएको छ,’ समितिका सदस्यसमेत रहेका एक मन्त्रीले भने।
लकडाउन गत चैत ११ गतेदेखि लकडाउन लाग्दै आएको छ।
यसअघि समिति बैठकले लकडाउन गरिएका कारण कोरोना जोखिम कम भएकोसमेत निष्कर्ष निकालेको थियो। विश्वका अन्य मुलुकको तुलनामा नेपालमा कोरोनाबाट मानवीय क्षति नभएकोलाई बैठकले सफलताको रुपमा समीक्षा गरेको थियो।
'संक्रमितको संख्या बढ्दै गएपनि अहिलेसम्म ज्यान जानबाट जोगिएको छ। अहिलेसम्म स्वास्थ्य सेवा र मेडिकल सामाग्री आवश्यक पुग्ने नै छ,’ पर्यटनमन्त्री योगेश भट्टराईले भनेका थिए, ‘सामाजिक दुरी कायम गरेर नै कोरोनाबाट बच्ने अचुक उपाय हो। त्यसैले लकडाउन लम्ब्याउनु पर्छ भन्ने भयो।’