काठमाडौं- संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको भनिएको अनियमितताका विषयमा अध्ययन थालेको छ।
समितिले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागलाई पत्र काट्दै ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसँग स्वास्थ्य विभागमार्फत् भएको स्वास्थ्य सामग्री खरिदको विवरण र बिलबिजक मागेको छ। बिना प्रतिस्पर्धा खरिद प्रक्रिया अगाडि बढाउनु र बीचमा खरिद प्रक्रिया रद्द गर्नुमा आर्थिक अनियमितताको शंका देखिएको भन्दै छानबिन गर्ने समितिले जनाएको हो।
‘हाल विश्वमा महामारीको रुपमा फैलिरहेका कोमिड-१९ अर्थात् नोबेल कोरोना र संक्रमण नियन्त्रण गर्ने उद्देश्यले स्वास्थ्य सेवा विभागमार्फत् बिना प्रतिस्पर्धा ओम्नी बिजनेस इन्टरनेसनलसँग स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री खरिद गर्ने कार्य अघि बढाइएकोमा सो खरिद सम्झौता रद्द भएको भन्दै समितिले छानबिन गर्न आवश्यक भएको’ पत्रमा उल्लेख छ।
‘खरिद प्रक्रिया सम्बन्धमा मन्त्रालयको प्रतिक्रिया र त्यसलाई पुष्टि हुने आवश्यक कागजातहरु तथा खरिद प्रक्रियामा भए गरेको सम्पर्ण कागजात ७ दिनभित्र समितिमा उपलब्ध गराइदिनु हुन निर्देशानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ।
