काठमाडौं - अमेरिका नेपाल मेडिकल फाउण्डेशसनले कोरोनाको रोकथाम तथा उपचारमा प्रयोग हुने करीब ६० लाख बराबरको स्वास्थ्य सामग्री नेपालका विभिन्न अस्पतालमा वितरण गरेको छ।
फाउण्डेशनले काठमाडौं उपत्यका भित्र र बाहिरका विभिन्न अस्पतालमा करीब ६० लाख बराबरको पिपिई, मास्क, गाउन लगायत सामग्री वितरण गरेको हो। नेपालमा कोरोनाको रोकथाम तथा उपचारका लागि फाउण्डेशनले एक करोड रुपैयाँ सहयोग गरेको थियो। जसमध्ये हालसम्म ६० लाख बराबरको स्वास्थ्य सामग्री खरिद गरेर वितरण गरिएको अमेरिका नेपाल मेडिकल फाउण्डेशन नेपालका अध्यक्ष डा भूपेन्द्र बस्नेतले बताए ।
उनले भने, ‘जनसमुदायलाई सुरक्षित राख्न र कोरोनाबाट बचाउनका लागि हामीले विभिन्न अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएका हौं। बाँकी रकम पनि यसैमा खर्च गर्छौं।’
फाउण्डेशनले पिपिई सेट, एन ९५ मास्क र गाउन हालसम्म ७० बढी अस्पतालमा निशुल्क रुपमा उपलब्ध गराएको छ। काठमाडौं उपत्यकामा रहेका त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नेपाल मेडिकल कलेज, प्रसुति गृह लगायत १० बढी अस्पतालमा स्वास्थ्य सामग्री वितरण गरेको बस्नेतले बताए।

फाउण्डेशनले काठमाडौं उपत्यका बाहिरका बुटवल, विरगञ्ज, पोखरा, झापा, लुम्बिनी लगायत १५ बढी अस्पतालमा पनि स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। यी सबै अस्पतालमा गरी ५ सय ६६ पिपिई सेट, २ हजार १ एन ९५ मास्क र ४ सय ६२ गाउन उपलब्ध गराएको बस्नेतले जानकारी दिए।
यस बाहेक फाउण्डेशसनले विभिन्न अस्पतालका आवासीय चिकित्सकलाई १ हजार ७ सय ७ मास्क र २ सय २५ गाउपन पनि उपलब्ध गराएको छ। फाउण्डेशनसले सहयोग गरेको एकमध्ये बाँकी रहेका करीब ४० लाख रुपैयाँ पनि कोरोनाको रोकथाम तथा उपचारका लागि खर्च गरिने अध्यक्ष बस्नेतले जानकारी दिए।
राष्ट्रिय आबिष्कार केन्द्रले हाल विभिन्न अस्पतालमा कोरोनाको नमूना संकलनका लागि विभिन्न बुथको निर्माण, पिपिई, युभी रेडियसन निर्माण गरी हस्तान्तरण गर्दै आएको छ । केन्द्रलाई यो कार्यमा सहयोग र प्रोत्साहनका लागि फाउण्डेशनले दश लाख रुपैयाँ उपलब्ध गराएको उनले जानकारी दिए। केन्द्रले प्राप्त गरेको रकम पिपिई सेट, युभी रेडियसन र रोवोट निर्माणमा लागि खर्च गरिनेछ ।
केन्द्र र फाउण्डेशनको सहयकार्यमा हालसम्म त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज अस्पताल, आर्मी अस्पताल, एपीएफ र केएमसी अस्पतालमा नमूना संकलन बुथ हस्तान्तरण भइसकेको छ।
कोशी अस्पताललाई पनि २ सय एन ९५ मास्क र १ सय सेट पिपिई सोमबार हस्तान्तरण गर्न लागिएको बस्नेतले जानकारी दिए।
अमेरिका नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष डा सन्तोष सापकोटाले कोरोना भाइरसको संक्रमण विभिन्न देशमा देखिएलगत्तै नेपालमा पनि समस्या आउन सक्छ भन्ने सोचेर सुरुमै सहयोग अगाडि बढाएको बताए।
उनले सम्भावित खतरालाई मध्यनजर गर्दै बिरामीको उपचारमा अग्रस्थानमा खटिने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा कवज लगाउतका कुरामा सहयोग गरिएको जानकारी दिए। उनले नेपाललाई थप सहयोग पनि गरिरहेको बताए।
सन् १९९७ मा नर्थ अमेरिकामा रहेका नेपाली डाक्टर र नेपाललाई माया गर्ने समाजसेवीहरुको पहलमा यो संस्था स्थापना भएको हो। न्यूयोर्कमा दर्ता भएको यो संस्था सन् २००० मा अमेरिका नेपाल चिकित्सक प्रतिष्ठान एएनएमएफ नेपालमा पनि स्थापना भयो।