विराटनगर- प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड-१९) का संक्रमितका लागि सुनसरीको धरानमा एक सय वेडको अस्पताल सञ्चालनमा ल्याएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान कोभिड-१९ अस्पतालको मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, प्रदेश सांसदहरु सावित्री जोशी, उमिता वराईली, धरान उपमहानगरपालिकाका प्रमुक तिलक राई लगायतले निरीक्षण गरेका छन्।
अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री राईले कोरोनाको केन्द्रबिन्दु एक नम्बर प्रदेश भएकोले कोरोना भाइरसको उपचार र रोकथामका लागि प्रदेश सरकार गम्भीर भएर लागि रहेको बताए। मुख्यमन्त्री राईले कोभिड-१९ लाई पराजित गर्न लकडाउनमा पालना गर्नुपर्ने अनुशासनहरू पालना गरेर, सङ्क्रमितहरूलाई उपचारको व्यवस्था गरेर तथा सङ्क्रमण विस्तार हुन नदिएर कोरोना भाइरसलाई पराजित गर्ने बताए। कोरोना भाईरस नियन्त्रणका लागि प्रदेश सरकारको तयारी राम्रो भएकोले आत्तिनु नपर्ने उनले बताए।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक हप्तामा १ सय बेडका अस्पताल तयार भएको बताए। उनले आवश्यक परेको अवस्थामा बिपीमा थप ५ सय बेड तयारी गरिने बताए। उनले कोरोना उपचारका लागि अन्य स्थानमा पनि संभाव्यता अध्ययन भइरहेको बताए।
अत्याधुनिक सेवा सुविधाका साथ अस्पताल सञ्चालनमा आएको प्रतिष्ठानले जनाएको छ।
प्रदेश सरकारले यसअघि विराटनगरमा कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र सञ्चालन गरेको थियो। कोभिड अस्पतालमा अहिले ३० जना संक्रमितको उपचार भइरहेको छ। कोभिड-१९ कोरोना उपचार केन्द्रमा अहिले ५० बेड थप गरिएको छ। सो उपचार केन्द्र अहिले एकसय बेडको भएको छ।