काठमाडौं- रौतहटमा थप दुई जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। २४ र ३५ वर्षीय दुई युवकको कोरोना भाइरस परीक्षणमा पोजिटिभ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
उनीहरु वृन्दावन नगरपालिका र देबाही गोनाही नगरपालिका बासिन्दा भएको बताइएको छ। यी दुई सहित नेपालमा कुल संक्रमितको संख्या ५४ पुगेको छ। जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्।
पछिल्लो समय प्रदेश १ र २ मा कोरोना संक्रमित देखिएका छन्। अघिकांश भारतबाट नेपाल आएका व्यक्तिहरु हुन्।
हाल प्रदेश १ को कोशी अस्पताल विराटनगरमा ३१ जना र नारायणी अस्पतालमा ३ जना, चितवनमा ३ जना र सेती अस्पतालमा १ जना संक्रमितको उपचार भइरहेको छ।
मन्त्रालयका अनुसार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा दुवैमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो।