काठमाडौं- कोभिड-१९ को महामारीबाट मृत्यु भएकामा उनीहरुको शव कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा नेपाली सेनाले मृत शरीर व्यवस्थापनको डेमोन्ष्ट्रेसन प्रस्तुत गरेको छ।
कोभिड-१९ को बढ्दो संक्रमित संख्यालाई मध्यनजर गर्दै नेपाली सेनाको श्री मध्यपूर्वी पृतना हे.क्वा. अन्तर्गत श्री शेर गण चोहर्वा व्यारेकको हाताभित्र अमरदल गुल्मद्वारा यस्तो डेमोन्ष्ट्रेशन प्रस्तुत गरिएको हो।

उक्त डेमोन्ष्ट्रेशन कार्यक्रममा सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईँ, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवाला निकायहरूको उपस्थिति थियो। डेमोन्ष्ट्रेशन कार्यक्रम विशेषत: शंकास्पद संक्रमित भेट्दा गरिने कारबाही तथा कोभिड-१९ संक्रमित मृत शरीरको व्यवस्थापन गर्ने तरिका लगायतका विषयमा केन्द्रित रहेको थियो ।
प्रस्तुत गरिएको डेमोन्ष्ट्रेशन कार्यक्रम सुरक्षा निकायबीच गरिने कारबाहीमा समेत एक रूपता ल्याउन मद्दत पुर्यााई वास्तविक परिस्थितिमा कसरी कार्य गर्ने सम्बन्धी ज्ञान दिलाउने लक्ष्य रहेको थियो।

विगतका समयहरूमा पनि नेपाली सेनाले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण कार्यमा नेपाली जनतालाई हरेक सुख-दुखमा साथ दिँदै आइरहेको छ। भविष्यमा पनि त्यस्ता किसिमका कार्यहरूलाई अझ बढी प्रभावकारी ढंगबाट पर्याप्त स्रोत र साधनको प्रयोग गरी आफ्नो जिम्मेवारी र कर्तव्यलाई निरन्तरता दिने शेर गणका सह-सेनानी गिरिजाप्रसाद भट्टले बताए।