काठमाडौं- पछिल्लो २४ घन्टामा कोरोनाको नयाँ संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोरोनाको आशंकामा गएको २४ घन्टामा १ हजार ६ सय ८२ जनाको नमुना परीक्षण भएको छ। ४ सय ८७ जनाको पिसिआर र १ हजार १ सय ९५ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।
नेपालमा हालसम्म कोरोनाको आशंकामा परीक्षण हुनेको संख्या ५८ हजार ८ सय ७१ पुगेको छ। जसमध्ये १२ हजार ११ जनाको पिसिआर र ४६ हजार ८ सय ६० जनाको आरडिटीबाट परीक्षण भएको हो।
प्रदेश १ मा ४ हजार ९ सय ८५, प्रदेश २ मा ५ हजार ४ सय ५६, बागमतीमा ८ हजार ३ सय ६१, गण्डकीमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ३ हजार ७ सय ९९, कर्णालीमा ५ हजार ४ सय ३६ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ४ सय ११ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा ३ र बाहिर ७७ गरी कूल ८० जना शंकास्पद बिरामी आइसोलेसनमा छन्। काठमाडौंमा पाटन अस्पतालमा मात्र ३ जना शंकास्पद आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
मुलुकभर २३ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा छन्। मन्त्रालयका अनुसार प्रदेश १ मा २ हजार ५ सय ७६, प्रदेश २ मा १ हजार ४ सय, बागमतीमा ५ सय ५१, गण्डकीमा ५ सय ९३, प्रदेश ५ मा १२ हजार ७ सय ५२, कर्णालीमा ३ हजार ९ सय ९८ र सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ६६ जना क्वारेन्टाइनमा छन्।
संक्रमित ५७ मध्ये १६ जना उपचारपछि डिस्जार्ज भइसकेका छन्। बाँकी ४१ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।