काठमाडौं - सरकारले कोभिड १९ को उपचारमा प्रयोग हुने औषधि, स्वास्थ्य उपकरण, स्यानिटाइजर, पञ्जा, पिपिईको आपूर्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप बजेट उपलब्ध गराउने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड १९ को उपचारमा प्रयोग हुने माथि उल्लेखित सामग्रीको आपूर्तिका लागि मन्त्रालयलाई थप बजेट उपलब्ध गराउने निर्णय गरेको हो। अस्पतालको क्षमता विस्तार समेतका लागि थप बजेट उपलब्ध गराउने बैठकले निर्णय गरेको छ।
स्यानिटाइजर उत्पादनका लागि स्वदेशी उद्योगलाई इथानोल खरिदमा अन्तःशुल्क ऐन २०५८ को अनुसूची बमोजिम लाग्ने अन्तःशुल्क पूर्णरुपमा छुट दिने पनि सरकारले निर्णय गरेको छ।
फेस मास्क, स्यानिटाइजर, सर्जिकल ग्लोभ्समा सरकारले तोकेको भन्दा बढी मूल्यमा बिक्रि गर्न पाइने छैन। ती वस्तुको उपयोग, बिक्रि वितरण तथा मूल्यको सम्बन्धमा औषधि व्यवस्था विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गर्ने बैठकले निर्णय गरेको छ।
सरकारले क्वारेन्टाइनमा राखिने व्यक्तिहरुको खाना खर्च संघ, प्रदेश र स्थानीय तहले दोहोरो नपर्ने सुनिश्चित गरी स्वीकृत क्वारेन्टाइन सम्बन्धी मापदण्ड बमोजिम आवश्यक पर्ने रकम उपलब्ध गराउने व्यवस्थालाई निरन्तरता दिने भएको छ।
कोभिड १९ को संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा संलग्न हुने चिकित्सक, नर्स, स्वास्थ्य प्राविधिक, महिला स्वास्थ्य स्वयंसेविका, स्वयमसेवक तथा सरसफाईमा संलग्न हुने श्रमिक, एम्बुलेन्स चालक तथा सुरक्षाकर्मीलाई २०७७ असार मसान्त सम्मका लागि २५ लाखसम्मको निशुल्क बीमा÷क्षतिपूर्ति दिने व्यवस्थालाई कायम गर्नेछ।
बैठकले निजी स्वास्थ्य सेवा प्रदायक संस्थालाई आवश्यक स्वास्थ्य उपकरणको आपूर्तिको सुनिश्चित गरी सबै स्वास्थ्य सेवा सुचारु राख्न भनेको छ। सबै सेवा शुल्कमा असार मसान्तसम्मको बिल बमोजिमको रकममा न्यूनतम २० प्रतिशत छुट दिने बैठकले निर्णय गरेको छ।
यस्ता छन् मन्त्रिपरिषदका निर्णय