एजेन्सी– सन् २०१९ सालको डिसेम्बर महिनाको अन्तिमा चीनबाट सुरु भएका कोरोना भाइरस अहिले संसारभरका प्राय जस्तो देशमा प्रकोपका रुपमा देखा गरेको छ। यो भाइरसले विश्वका २ लाख ३३ हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ।
विश्वका चिकित्सक, वैज्ञानिक र सम्बन्धीत निकायहरु यो भाइरसलाई रोक्न अनेक कोशिस गरिरहेका छन्। तर अहिलेसम्म न त खोपको विकास भएको छ, न यसको सहि उपचार विधि नै पत्ता लाग्न सकेको छ।
यसको उपचार गर्न र रोकथाम उपाय पत्ता लगाउनु सिंगो विश्वको चिन्ताको विषय बनेको छ।
यही बीचमा ‘कन्भलेसेन्ट प्लाज्मा थेरापी (सिपिटी)’ले यो रोग निको पार्ने आशा जगाएको छ। विश्वका विभिन्न देशले यो थेरापी लागू गर्न खोजिरहेका छन्। किनभने अहिलेको अवस्थामा कोरोनाको उपचार गर्न ‘प्लाज्मा थेरापी’ अन्तिम विकल्पको रुपमा अगाडी आएको छ।
कुन कुन देशमा प्लाज्मा थेरापीको प्रयोग गरिएको छ ?
भारतले दिल्लीका ६ जना संक्रमित बिरामीलाई प्लाज्मा थेरापीले उपचार सुरु गरेको छ। ६ जना मध्ये ४ जनामा सकारात्मक परिवर्तन आएको छ। बेलायत सरकारले गएको शनिबार कोरोनाका कारण गम्भीर बिरामीलाई प्लाज्मा थेरापीबाट उपचार गर्न सुरु गरिएको जनाएको छ। बेलायत सरकारले भनेको छ,‘अहिले क्लिनिकल परीक्षण सुरु गरिएको छ। निको भएका बिरामीबाट प्लाज्मा लिने प्रयास भइरहेको छ ताकि दैनिक ५ हजार संक्रमितको उपचार गर्न सकियोस्।’
अमेरिकी फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशनले कोभिड १९ निको भएका मानिसहरुलाई प्लाज्मा दान गर्न अनुरोध गरेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार इबोला भाइरसको संक्रमणको बेलामा कन्भलेसेन्ट प्लाज्मा थेरापी प्रयोेग गरिएको थियो।
एन्टी भाइरल नमिल्दासम्म प्लाज्मा थेरापीको भर
चीनमा पनि प्लाज्मा थेरापीको प्रयोग गरिएको थियो जुन सफल पनि भएको थियो। चीनमा फेब्रुअरीको पहिलो साताबाट प्लाज्मा थेरापी सम्बन्धी काम सुरु गरिएको थियो।
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका एक अधिकारीले फेब्रुअरीको अन्तिमा यो प्रयोग गरिएको बताएका थिए। उनका अनुसार चीनले अहिलेसम्म यो सुरक्षित भएको सावित भएको छ।
के कोरोना रोक्न प्लाज्मा थेरापी महत्वपूर्ण बन्न सक्ला ?
भारतको राजधानी नयाँ दिल्लीका कोरोना रोकथाम सम्बन्धी समितिका प्रमुख एवं द इन्स्च्यिुट अफ लिबर एण्ड विलरी साइन्स (आईएलबीएस) अस्पतालका चिकित्सक डा एस के सरीनले भने,‘खोप र प्लाज्मा थेरापी भनेको अलगअलग कुरा हुन्। प्लाज्मा थेरापीले अहिले विश्वमा उपचार त भएको छ। तर लामो समयसम्म कोरोनाबाट बच्नको निमित्त खोपको नै आवश्यकता पर्छ।’
खोप एक तरिकाको सुरक्षा विधि भएको बताउँदै भने,‘खोप जो कोहीलाई पनि आवश्यक पर्छ। जसलाई खोप मिल्दैन, उनीहरुलाई संक्रमण हुन सक्छ यस्तो बेलामा उपचारको आवश्यक पर्छ। उनीहरुको उपचारमा प्लाज्मा थेरापी काम लाग्नसक्छ।’
जो मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्, उनीहरुलाई पहिलो स्टेजमा भाइरस फैलन सुरु हुन्छ। त्यसपछि दोस्रो स्टेजमा फोक्सोमा संक्रमण देखिन थाल्छ। तेस्रो स्टेजमा विभिन्न अंग बिग्रिन थाल्छन्।
चिकित्सकका अनुसार, ‘संक्रमणको दोस्रो स्टेजको सुरुवाति दिनमा यदि प्लाज्मा थेरापी दिईयो भने बिरामी बच्न सक्छ। तर यसको खोपको स्थान प्लाज्मा थेरापीले कहिल्यै पनि लिन नसक्ने चिकित्सकहरु बताउँछन्।
‘यो नयाँ भाइरस भएकोले यस विरुद्धको खोपको अनुसन्धान भइरहेको छ। त्यो बेलासम्म हामीले पर्खनुपर्छ। अहिलेसम्म एन्टी भाइरल ड्रग बनेको छैन। यस्तो अवस्थामा जबसम्म यो रोग विरुद्धको एन्टी भाइरल बन्दैन, तबसम्मका लागि उपचारमा प्लाज्मा थेरापी एक आशाको किरण हो।’ डा सरीन भन्छन्।
‘यसबाट उपचार गर्न प्लाज्मा दिने मान्छे हुनुपर्ने र उनीहरुले मानिसहरु रगत पनि दिनसक्ने चिकित्सकको भनाई छ। रगत दिँदा कमजोर नहुने चिकित्सकले स्पष्ट पारेका छन्
कोरोना भाइरसको महामारीका बीचमा अमेरिकी सरकारी स्वास्थ्य एजेन्सी र प्लाज्मामा काम गर्ने कम्पनीसँग मिलेर ‘प्लाज्मा अलायन्स’ गठन गरेको छ। यसले कोभिड १९ उपचारमा मिलेर अगाडी बढ्ने प्रयास गरेको छ।
के हो प्लाज्मा ?
प्लाज्मा रगतमा पाइने एक किसिमको तरल पदार्थ हो । रगतबाट छुट्याएपछि यो हलुका पहेँलो रङमा देख्न सकिन्छ । यसले शरीरमा आवश्यक पर्ने भागमा प्रोटिन पुर्याउने काम गर्छ । रगतमै पाइने एन्टीबडी पनि एक किसिमको प्रोटिन हो । यसले शरीरमा विभिन्न किसिमका रोगबाट हुने आक्रमणको प्रतिरोध गर्छ ।
प्लाज्मा रगतमा पाइने एक किसिमको तरल पदार्थ हो । रगतबाट छुट्याएपछि यो हलुका पहेँलो रङमा देख्न सकिन्छ । यसले शरीरमा आवश्यक पर्ने भागमा प्रोटिन पुर्याउने काम गर्छ । रगतमै पाइने एन्टीबडी पनि एक किसिमको प्रोटिन हो । यसले शरीरमा विभिन्न किसिमका रोगबाट हुने आक्रमणको प्रतिरोध गर्छ ।
के हो प्लाज्मा थेरापी?
कन्भलेसेन्ट प्लाज्मा थेरापीबारे एउटा धारणा छ, त्यो के हो भने कोभिड१९को संक्रमण बिरामी निको हुँदा उनीहरुको शरीरमा संक्रमणलाई रोक्न सक्ने प्रतिरोधात्मक एन्टिबडी विकसत हुन्छ जसको मदतबाट कोभिड१९ का संक्रमितको रगतमा भएको भाइरस नष्ट गर्न सकिन्छ। संक्रमण सम्बन्धी रोगमा पहिले देखि प्लाज्मा थेरापीबाट उपचार हुदैं आएको छ। यसअघि सार्स, मर्सर, एच१एन१ जस्ता महामारीको उपचारमा पनि यो थेरापीको प्रयोग भएको थियो।
सामान्यतया, भाइरल रोगको कुनै विशेष उपचार पद्धति हुँदैन । जटिलताका आधारमा यस्ता रोगको उपचार गरिन्छ । त्यस्तै, नयाँ देखिएको कोभिड–१९ को पनि अहिलेसम्म कुनै उपचार पद्धति पत्ता लागेको छैन । भाइरससँग लड्नका लागि शरीरमा प्रतिरक्षा प्रणाली (इम्युनिटी सिस्टम)ले काम गरिरहेको हुन्छ । जसले रगतको माध्यमबाट इम्युनोग्लोबुलिन उत्पादन गर्छ ।
कोरोनाविरुद्ध लड्नका लागि मानव शरीरले प्रतिरोधी क्षमता विकास गर्न कम्तीमा १० देखि १४ दिन लाग्ने गर्छ। यदि सुरुवातीको चरणमै बिरामीमा प्लाज्मा थेरापी अपनाउने हो भने भाइरससँग लड्ने क्षमतामा वृद्धि गर्न सकिन्छ।
प्लाज्मा थेरापीको माध्यमबाट रगतबाट उक्त इम्युनोग्लोबुलिनलाई हटाइन्छ। कुनै भाइरसको संक्रमणका कारण शरीरमा एन्टिबडीले काम गर्न असमर्थ हुँदा वा रोगबाट निको हुने सम्भावना कम भएमा प्लाज्मा थेरापीको विधि अपनाइन्छ। प्रतिरक्षा प्रणालीले शरीरमा एन्टिबडी विकास गर्न र भाइरसविरुद्ध लड्नका लागि खोप दिइने गरिन्छ । तर, कोरोनाविरुद्ध अहिलेसम्म कुनै भ्याक्सिन पत्ता लागेको छैन । एक अध्ययनअनुसार, मानव शरीरले कोरोनाविरुद्ध लड्नका लागि प्रतिरोधी क्षमता विकास गर्न कम्तीमा १० देखि १४ दिन लाग्ने गर्छ । यदि, सुरुवातीको चरणमै बिरामीमा प्लाज्मा थेरापी अपनाउने हो भने भाइरससँग लड्ने क्षमतामा वृद्धि गर्न सकिन्छ।
प्लाज्मा थेरापी एकदमै छोटो समयमा गरिन्छ। शरीरमा रगत जम्मा गरेर प्लाज्मालाई मेसिनको माध्यमबाट छुट्याइन्छ र बाँकी रगत शरीरमै फिर्ता पठाइन्छ। सामान्यतया, यो विधि भाइरसले ल्याउने जटिलतालाई कम गर्न सहयोगी हुन्छ। कोरोनाका केही बिरामीमा यो विधि प्रयोग गरिए पनि यसबारे विज्ञानले पूर्ण रूपमा प्रमाणित गरेको छैन।