काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को नेपालस्थित कार्यालयले संगठनको लोगो अनाधिकृत रुपमा प्रयोग नगर्न अनुरोध गरेको छ।
डब्लुएचओ नेपालका विभिन्न प्रयोजनहरुमा डब्लुएचओको लोगो अनाधिकृत रुपमा प्रयोग भइरहेको खबर आएकाले संस्थाको ध्यानाकर्षण भएको जनाएको छ।
डब्लुएचओले आफ्नो संस्थाको लोगा वा प्रतीक लिखित अनुमतिद्वारा मात्र प्रयोग गर्न सकिने भन्दै सचेत गराएको छ।
शुक्रबार नेपालस्थित कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै लोगोको उपयोग डब्लुएचओसँग आधिकारिक रुपमा सहकार्य गरिरहेका तथा साथ काम गरिरहेका सरकारी निकायहरु र संस्थाहरुको लागि मात्र सीमित गरिएको उल्लेख गरेको छ।
‘डब्लुएचओको लोगो वा प्रतिकको प्रयोग डब्लुएचओद्वारा अनुमोदन गरिएका सामग्रीहरुमा मात्र प्रयोग गर्न सकिन्छ। यो लोगो प्रयोग भएको कुनै पनि सामग्रीहरु भनेको उक्त सामग्री डब्लुएचओद्वारा अनुमोदन गरिएको हो भन्ने संकेत गर्दछ,’ डब्लुएचओद्वारा जारी विज्ञप्तिमा भनिएको छ।