काठमाडौं- बाँकेका सबै धार्मिक स्थलमा रहेका धर्मगुरुहरुको कोरोना भाइरस संक्रमण परीक्षण गरिने भएको छ।
सबै धार्मिक स्थलमा बस्ने धर्मगुरु र कुर्न बस्ने व्यक्तिहरु र नियमित आउने व्यक्तिहरुको नमुना परीक्षण गरिने भएको निर्णय भएको बाँकेका एसपी वीरबहादुर ओलीले जानकारी दिए।
हालसम्म विभिन्न धार्मिक स्थलका १०० भन्दा बढी व्यक्तिको नमुना नमुना संकलन भएको र उनीहरुको नमुना परीक्षण गर्ने कार्य भइरहेको बताइएको छ।
शुक्रबार नेपालगञ्जमा ६० वर्षिय वृद्धमा कोरोना संक्रमित देखिएको छ। उनी मुस्लिम धर्म गुरु (मौलाना)भएको बताइएको छ।
उनी एक महिनाअघि भारतबाट आएको बताइएको छ। उनी नेपालगञ्ज उपमहानगरपालिकाले भारतबाट आएका ब्यक्तिका लागि बनाएको क्वारेन्टाइनबाट भागेका थिए।
पछिल्लो समयमा नेपालञ्जस्थित मस्जिदमा बस्दै आएका धर्मगुरु र अन्य व्यक्तिहरुको नमुना संकलन गर्ने र जाँच गर्ने निर्णय गरीएसँगै उनको पनि नमुना परीक्षण गरिएको थियो।
यो सँगै नेपालगञ्ज नगरपालिकाका ४ स्थान सील गरिएको छ। डिएसपी रोड, वडा न ८ महेन्द्र पार्क, धम्बोजी चोक र एकलैनी क्षेत्र सील गरिएको एसपी ओलीले जानकारी दिए।
उनले भने,‘हामीले शंकास्पद क्षेत्र सील गरी त्यहाँ संक्रमितको सम्पर्कमा आएका, उनले भेटेका सबै व्यक्तिको ट्रेसिङ गर्ने कार्य पनि अघि बढाईसकेका छौं।’
संक्रमित व्यक्ति महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक आउनेजाने गरेकाले ती स्थानमा सील गरिएको बताइएको छ। संक्रमित व्यक्तिको परिवारका सदस्य र उनको सम्पर्कमा आएका व्यक्तिहरुको पनि कोरोना भाइरस संक्रमण परीक्षण गरिने बताइएको छ।
धम्बोजीस्थित मस्जिदमा बसेका एक युवामा कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै आइसोलेनमा राखिएको छ भने उनको परीक्षण भरहेको छ।
सोही कारणले प्रहरीले धम्बोजी क्षेत्रलाई पनि सील गरिएको र ट्रेसिङ कार्य अघि बढाइएको एसपी ओलीले बताए।
उनले शंकास्पद व्यक्तिहरुको नमुना संक्रलन गर्ने, परीक्षण गर्ने र क्वारेन्टाइन र आइसोलेसनमा राख्ने प्रक्रियाबारे छलफल भइरहेको बताए।
कोरोना देखिएका ६० वर्षीय पुरुष र शंकास्पद मानिएका अर्का एक युवालाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेनमा राखिएको छ।