काठमाडौं- महोत्तरीका भंगहामा एक सातामा ९ जना व्यक्तिको मृत्यु भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमिलोलोजी तथा रोग नियन्त्रण महाशाखाले छुट्टाछुट्टै दुई स्वास्थ्य टोली खटाएको छ।
महाशाखाबाट गएको टोलीको प्रारम्भिक रिपोर्ट अनुसार नौ मध्ये २ जनाको मृत्यु के कारणले भएको भन्ने पुष्टि भएको छैन। सोही स्थानका थप तीन जनाको उपचार भइरहेको बताइएको छ।
महोत्तरीको भंगहामा घरेलु मदिरा सेवन गरेका कारण ती मानिसको ज्यान गएको बताइएको छ। मृतकमध्येका एक व्यक्तिलाई मलेरियाको औषधि सेवन गरिहेको र सोही समयमा मदिरा सेवन गरेपछि उनको मृत्यु भएको अनुमान गरिएको छ। यद्यपी मृत्यु कारण स्पष्ट भएको छैन।
महाशाखाले के कारण उनीहरुको मृत्यु भएको हो भन्ने बारे अध्ययन गर्न दुई चिकित्सकको नेतृत्वमा टोली खटाएको हो। महाशाखाले महामारी शाखाका प्रमुख डा अमृत पोखरेल र मलेरिया शाखाका डा प्रकाश साहलाई महोत्तरी पठाएको जनाएको छ।
महोत्तरीको भंगहा पुगेका डा पोखरेलले उक्त विषयमा अनुसन्धान भइरहेको जानकारी दिए।
‘महोत्तरीको भंगहा र बर्दिबास नगरपालिकाभित्र भएको घटना हो। हामीले हिजोदेखि नै मृतक परिवारसँग भेटेर कुराकानी गरिरहेका छौँ। मृतकको स्वाबको नमूना लिएर प्रयोगशालामा जाँचका लागि पठाएका छौँ।’
अनुसन्धान जारी रहेकाले मृतकले घरेलु मदिरा सेवन गरेका कारण हो वा अन्य कारण भन्ने स्पष्ट नभएको उनले जानकारी दिए।
मृतक भएकामध्ये एक जनामा मलेरिया भएको भन्ने खबर आएपछि डा प्रकाश साहको टोली अध्ययनका लागिका आइतबार साँझसम्म महोत्तरी पुग्दै छ।
डा साहले स्वास्थ्यखबरसँग भने,‘हामी महोत्तरी जाँदै छौँ। बेलुकासम्म महोत्तरी पुग्छौँ। एकजनालाई मलेरिया थियो भन्ने कुरा आएको छ। मलेरियाको सही जाँच भएको थियो कि थिएन। अन्यलाई मलेरिया थियो कि थिएन भन्नेबारे अध्ययन गर्छौँ।’
घटनापछि प्रारम्भिक अनुसन्धान गरेको भंगहा नगरपालिकाले बान्ता हुने, पेट दुख्ने, झाडापखाला लाग्ने, टाउको दुख्नेजस्ता साझा लक्षण देखिएको जनाएको छ। उपचारमा रहेका बिरामीले पनि नियमित रुपमा घरेलु मदिरा सेवन गर्दै आएको पाइएको छ।
केही व्यक्ति उपचारकै क्रममा र केहीको अस्पतालबाट घर फर्किएपछि मृत्यु भएको पाइएको छ।
नगरपालिकाले जिल्ला स्वास्थ्य कार्यालयलाई वैशाख १८ गते पत्र पठाउँदै घटनाका बारेमा आवश्यक अध्ययन र अनुसन्धान गरिदिन अनुरोध गरेको थियो।
नगरपालिकाका प्रमुख संजीवकुमार साहको नेतृत्वमा घटना स्थल वाड नम्बर ७ मेघनाथ गोरहन्नामा नगरपालिकाका विपद् व्यवस्थापन समिति सदस्य, र्यापिड रेसपोन्स टीमका सदस्यसहितको टोली घटनास्थल पुगि सोधपुछ गरी प्रारम्भिक प्रतिवेदन तयार पारेका थिए।
.jpg)
.jpg)
.jpg)