काठमाडौं- नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष प्रा विष्णु राईको सोमबार बिहान निधन भएको छ।
उनले ६० वर्षभन्दा बढी समय नेपालको नर्सिङ सेवामा बिताएकी थिइन। उनी पछिल्लो समय हिमालय नर्सिङ क्याम्पसमा कन्सल्टेन्टको रुपमा कार्यरत थिइन्।
एक साताअघि स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालमा भर्ना भएकी राईको सोमबार बिहान निधन भएको नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष समेत रहेकी वीर अस्पतालकी नर्सिङ निर्देशक गोमादेवी निरौलाले जानकारी दिइन्।
उनले राईको निधनले नेपाली नर्सिङ क्षेत्रमा ठूलो क्षति भएको बताइन्। उनले भनिन्,‘उहाँ नेपालको नर्सिङ क्षेत्रको प्रेरणादायी र आदरणीय व्यक्ति हुनुहुन्थ्यो। उहाँ नर्सिङ संघको अध्यक्ष हुँदा नर्सको विकासका लागि थुप्रै प्रयासहरु गर्नुभएको थियो।’
राई मिर्गौला रोगी थिइन्। उनले नियमित डायलासिस गराउँदै आएकी थिइन्। मंगलबार घरमा लडेपछि उनलाई वीर अस्पताल भर्ना गरिएको थियो। मस्तिष्कमा रक्तश्राव भएकोले उनलाई भेन्टिलेटरमा राखिएको थियो।
तीन महिना अघि उनले स्वास्थ्यखबरसँग ६० वर्षेे नर्सिङ सेवा अनुभव यसरी सुनाएकी थिइन्। हेरौं भिडियो