काठमाडौं- अर्थ मन्त्रालयले कोरोना भाइरस रोकथाम र नियन्त्रण कार्यका लागि अहिलेसम्म ३ अर्ब ४२ करोड रुपैयाँ बजेट दिएको छ। अर्थले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रक्षा मन्त्रालयलाई यो बजेट दिएको हो।
अर्थमन्त्री डा युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयलाई १ अर्ब ८ करोड रुपैयाँ र रक्षा मन्त्रालयमार्फत उपकरण खरिदका लागि २ अर्ब ३४ करोड रुपैयाँ दिइएको बताए। संसदको अर्थसमितिको बैठकमा अर्थमन्त्री खतिवडाले कोरोना रोकथाम र नियन्त्रणका लागि बजेट अभाव हुन नदिने पनि जानकारी गराए।
बैठकमा अर्थमन्त्री खतिवडाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा भएको रकमलाई आवश्यकताअनुसार खर्च गर्दै जाने बताए। उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको समितिले गरेको सिफारिसअनुसार अर्थ मन्त्रालयले रकम निकासा दिँदै जाने जानकारी गराएका छन्।
मन्त्री खतिवडाले चालु वर्षमा राजस्वमा अहिले दबाब बढेको बताए। 'चालु वर्षको सुरुदेखि नै हामी अलिकति दबाबमा थियौँ, जुन हामी आफैँले सिर्जना गरेको हो,' उनले भने, 'कोरोना रोकथामका लागि लकडाउन गरेपछि हामी झनै पछाडि परेका छौँ।' चैत मसान्तसम्ममा राजस्व लक्ष्यको ८० प्रतिशत मात्रै संकलन गर्न सफल भएको पनि उनले बताए। खतिवडाले अहिले भन्सारसँगै अन्त:शुल्क र मूल्यअभिवृद्धि करमा पनि दबाब बढेको बताए।
खतिवडाले सरकारले अहिले अन्तर्राष्ट्रिय सहायता परिचालनमा जोड दिएको उल्लेख गरे। उनले कोरोनासँग सम्बन्धित काममा खर्च गर्न र आर्थिक उत्थानका लागि डेढ खर्ब रुपैयाँ बराबरको रकम सम्झौता भएको जानकारी गराए। 'राजस्वमा भएको कमीलाई परिपूर्ति गर्ने गरी सहायता परिचालन गर्छौँ,' उनले भने।
मन्त्री खतिवडाले चालु वर्षमा खर्च कम भइरहेकै बेला कोरोनाका कारण थप चाप परेको बताए। उनले यसले खर्च व्यवस्थापन पनि अफ्ठेरोमा परेको बताए। उनले चैतसम्ममा लक्ष्यको ५१ प्रतिशत र पुँजीगततर्फ २६ प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ ५० प्रतिशत खर्च भएको समितिलाई जानकारी गराएका छन्। मन्त्री खतिवडाले २० अर्ब रुपैयाँ बजेट सरेन्डर भएको पनि बताएका छन्।