अन्तर्वार्ता

कोरोना संकटमा मिर्गौला रोगको जोखिम : डा अनिल बराल [भिडियो वार्ता]

वीर अस्पतालमा अहिले बिरामीको चाप घटेको छ। ओपिडीमा दैनिक ८० देखि ९० जना बिरामी हेर्ने गरेकोमा अहिले दिनमा १५ देखि २० जनासम्म मात्रै बिरामी आउने गरेका छन्।

कतिपय बिरामी भीडभाड हुने डरले आएका छैनन् भने देशभरिबाटै बिरामी आउने अस्पताल भएकाले यातायातको कठिनाइले गर्दा पनि बिरामी घटेका हुन्।

मिर्गौलाका तीन÷चार वर्गका बिरामी हुन्छन्। गम्भीर बिरामीलाई हामी इमर्जेन्सीमा पनि हेर्ने गर्छाैँ। उनीहरु आइरहेका छन्। उनीहरुको लागि अस्पतालमा सबै सेवा पाइरहेका छन्। दोस्रो भनेको दुई/तीन महिनामा फलोअपमा आइराख्ने बिरामी हुन्छन्। उनीहरु पनि आइरहेकै छन्।

काठमाडौंभन्दा बाहिर रहेका बिरामीले फोन गर्छन्। फोनबाटै उनीहरुलाई औषधि सिफारिस गर्छाैँ। उनीहरुले नजिकको स्वास्थ्य केन्द्रबाट औषधि लगेर खाइरहेका छन्।

अर्को वर्ग भनेको नियमित डायलाइसिस गराइरहेका बिरामी। उनीहरु डायलाइसिस बिना बाँन सक्दैनन्। त्यसैले हप्तामा दुई÷तीन दिन अस्पताल आएर डायलाइसिस सेवा लिइरहेका छन्। अहिलेसम्म कोही पनि डायलाइसिस सेवाबाट छुटेका छैनन्। आवतजावत गर्न गाह्रो त पक्कै छ, तर पनि उनीहरुलाई कार्ड देखाएपछि प्रहरीले दुःख दिएका छैनन् भन्ने सुनेको छु। 

अर्को भनेको प्रत्यारोपण गर्नुपर्ने र गरिसकेपछि केयर गर्नुपर्ने बिरामी।  अवस्था स्थिर भइसकेका बिरामीले औषधि खाइरहेका छन्। हालै प्रत्यारोपण गराएका बिरामी पनि ओपिडीमा आइरहेका छन्।

मिर्गौलाको समस्या, मिर्गौलामै केही असर भएर पनि हुन्छ। शरीरका अन्य अंगमा समस्या भएर पनि मिर्गौलामा असर गरेको हुनसक्छ। दीर्घकालीन रुपमा मिर्गौलामा आउने समस्या एउटा हो भने अर्को समस्या भनेको अकस्मात मिर्गौलामा आउने समस्या हुन्छ। 

आकस्मात मिर्गाैलामा समस्यामा देखिने लक्षणमा ज्यान सुन्निने, उल्टी हुने, खाना रुचि नहुने, श्वास फेर्न गाह्रो हुने, कहिले छारे रोग जस्तै कम्पन हुने  हुन्छ। चोटपटकका बिरामीलाई संक्रमणका कारण मिर्गौलामा असर हुन्छ। त्यस्त बिरामी इमर्जेन्सीमा आइपुग्छन्।

दीर्घ रुपमा मिर्गौला फेल हुने बिरामी हुन्छन्। उनीहरुको समस्या आखिरी स्टेजमा पुगेको छ भने खाना रुचि नहुने, उल्टी हुने, स्याँस्याँ हुने, दम आउने, थकाइ लाग्ने आदि लक्षण देखिन सक्छन्। शरीरमा रगतको मात्रा कम भएर अनुहार सेतो हुने पनि हुन्छ। 

वीर अस्पतालमा अहिले पनि वार्डमा १० जना बिरामी छन्। आइसियुमा पनि बिरामी छन्। ६ जना नयाँ डायलाइसिस गराइरहेका बिरामी छन्। 

संसारभर हप्तामा कम्तीमा पनि १२ घन्टा डायलाइसिस गर्नुपर्छ भनिन्छ। नेपालीको शरीरको आकार प्रकार हेर्दा हप्तामा दुई पटक गर्दा पनि पुग्छ। कतिको त हप्तामा एक पटक मात्रै पनि गरिएको छ, खानामा रुचि छ, पिसाब भइरहेको छ, श्वास फेर्न सजिलो छ भने। 

अहिले लकडाउनको अवस्था छ। लकडाउन सुरु हुँदा स्वास्थ्यकर्मीसँग पर्याप्त सामग्री नभएको र औषधि पुगेको थिएन। त्यो कारणले सुरुसुरुमा गाह्रो भएको थियो, अहिले त्यस्तो छैन। 

अहिलेसम्म औषधिको सप्लाइमा कुनै रोकावट भएको छैन। कहिलेकाहीँ मेसिन बिग्रिएको हुन्छ। ट्युब पाइदैन। संकटको घडीमा केही सकियो भने कहाँबाट मगाउने एउटा संस्थाले? राज्यले त नसकेको अवस्था छ। त्यसलाई उल्टो बुझ्नु हुँदैन। गाह्रोसारो छ, त्यो बुझ्नुपर्छ तर हाम्रै संस्थाको कुरा गर्ने हो भने अहिलेसम्म बिरामीलाई मर्का पर्ने कुनै त्यस्तो समस्या छैन। 

एक÷दुई महिनामा फेरिएको जीवनशैलीले त्यस्तो असर त गर्दैन तर पनि मिर्गौलाको असरभन्दा पनि सुगर, उच्च रक्तचाप, मोटोपन सबै प्रकारको  नसर्ने रोगले सबै ठाउँमा उस्तै–उस्तै असर गर्छ। 

कुनै पनि अस्वस्थ जीवनशैलीले शरीरमा असर त गर्छ। ल्कडाउनको समयमा घरमै शारीरिक कसरत गर्न सकिन्छ। आफूलाई स्वस्थ राख्ने प्रयास गर्नुपर्छ। छोटो समयमा धेरै बिगार्ने भन्ने हुँदैन। उच्च रक्तचाप, मधुमेहका बिरामीले आफ्नो खानपानलाई नियन्त्रणमा राख्नुपर्छ। यसले पछि गएर मिर्गौलालाई असर गर्न सक्छ। स्वस्थ खानपान, सिर्जननशील काममा आफूलाई लगाउनुपर्छ।

दीर्घरोग भएका बिरामीलाई कोरोना भाइरसले धेरै असर गरेको छ। मृत्युदर पनि बढी छ। त्यस कारणले मिर्गौलाका बिरामीलाई पनि यो भाइरससँग खतरा छ। 

भीडभाडमा नजाने, सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने, जता पायो त्यतै नथुक्ने गर्नुपर्छ। मलाई भाइरसले केही गर्दैन भनेर हिँड्ने अवस्था छैन। 

कुनै पनि संक्रमणजन्य रोगले जसको रोग प्रतिरोधात्मक क्षमता कम छ, उनीहरुलाई नै बढी असर गर्ने हो। मिर्गौलाका बिरामीको शरीर नै बिरामी भएको हुन्छ। धेरै वर्षदेखिको दीर्घरोगको असर पनि मिर्गौलामा देखिने हो। 

मिर्गौलाका रोगीको असर दिमागदेखि लिएर हड्डी, छालासम्म परेको हुन्छ। त्यसैले पनि मिर्गौलाका बिरामी बढी होसियार हुनुपर्छ। संक्रमणजन्य भाइरस छिरेपछि रोग प्रतिरोधात्मक क्षमतासँग लड्ने हो। 

प्रत्यारोपण भनेको रुटिन सर्जरी हो। यो इमर्जेन्सी सेवा होइन। डायलाइसिसले मान्छे वर्षौं बाँच्ने गर्छन्। एक/दुई महिनामा त्यस्तो समस्या त हुँदैन। तर प्रत्यारोपणको समय पछाडि सर्दा असुविधा हुनसक्छ। संकटको घडीमा त्यसलाई सामान्य रुपमा लिनुपर्छ।

ad

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar
ad
ad
ad
ad

पढ्नै पर्ने