काठमाडौं - कोरोना संक्रमणको हटस्पट मानिएको उदयपुर, नेपालगञ्ज र वीरगञ्जमा कोरोना परीक्षणका लागि थप नमूना संकलन हुँदैछ।
उदयपुरमा करीब ५ सय, नेपालगञ्ज र वीरगञ्जमा १/१ हजार नमूना संकलन गरिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नमूना संकलनका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको टोली ती स्थानमा पुगेका छन्।
कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५१ जनाको नमूना परीक्षण भएको छ। आज नयाँ संक्रमित नभेटिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।
नेपालमा हालसम्म ६८ हजार ६ सय २ जनाको कोरोना परीक्षण भएको छ। १४ हजार ५ सय ९ जनाको पिसिआर र ५४ हजार ९३ जनाको नमूना परीक्षण भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ६ हजार ५ सय ५९, प्रदेश २ मा ५ हजार ३ सय ४८, बागमतिमा ९ हजार ४४, गण्डकीमा ६ हजार ३ सय ४९, प्रदेश ५ मा ५ हजार ७ सय १३, कर्णालीमा ६ हजार ६ सय ८ र सुदूरपश्चिममा १४ हजार ४ सय ७२ जनाको आरडिटिबाट परीक्षण भएको छ।
कुल संक्रमित ९९ जनामध्ये ७१ पुरुष र २८ जना महिला छन्। प्रदेश १ मा ३१, प्रदेश २ मा २, बागमतिमा ७, गण्डकीमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चिममा ५ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताए।
कोरोनाको आशंकामा काठमाडौं उपत्यका भित्र ३ र बाहिर १ सय ३० गरी कुल १ सय ३३ जना आईसोलेसनमा छन् । मुलुकभर हाल १७ हजार ३ सय ७२ जना क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।