काठमाडौं- बंगलादेशमा रहेका नेपाली विद्यार्थीले त्यहाँ कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढेकाे भन्दै आफूहरुको छिटो उद्धार गर्न आग्रह गरेका छन्।
लामो समयदेखिको प्रयासपछि पनि नेपाल सरकारबाट आफूहरुको उद्धारका लागि अहिलेसम्म कुनै सकारात्मक प्रतिक्रिया नआएको भन्दै उनीहरुले अनशन सुरु गरेको बताएका छन्।
‘लामो समयदेखिको अथक प्रयासपछि पनि नेपाल सरकारबाट हाम्रो उद्धारका लागि अहिलेसम्म पनि औपचारिक रुपमा कुनै सकारात्मक प्रतिक्रिया नआएकाले बाँच्न पाउने, मातृभूमिमा फर्कन पाउनु पर्ने हाम्रो नैसर्गिक अधिकार लागि शुक्रबारबाट हामीले डिजिटल रिले अनशन बस्ने निधो गरेका छौं,’ बंगलादेशमा अध्यनरत नेपाली विद्यार्थीले विज्ञप्ति जारी गर्दै भनेका छन्।
उनीहरुले रोग, भोक र त्रासले विदेशी भूमिमा अन्याेलको वातावरणमा बस्नुभन्दा मातृभूमि फर्कन पाउनु पर्नेु आफ्नो अधिकारका लागि आ-आफ्नो स्थानबाटै शान्तिपूर्ण रिले अनशनमा बस्न लागेकाे जनाएका छन्।
आफूहरुलाई छिटो उद्धार गरि नेपालमा लग्ने वातावरण मिलाइदिनसमेत उनीहरुले आग्रह गरेका छन्।
‘विश्वव्यापी महामारीको रुप लिएको यस भाइरसको संक्रमण र यसबाट मृत्यु हुनेको संख्या बंगलादेशमा दिनानुदिन तीव्र गतिमा बढ्दै गइरहेको छ र चाँडै नियन्त्रणभन्दा बाहिर जान सक्ने सम्भावना देखिइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ हामीहरुलाई यथाशक्य छिटो उद्धार गरि नेपालमा लग्ने वातावरण मिलाइदिनु हुन बंगलादेशस्थित नेपाली राजदूतावासमार्फत् नेपाल सरकारलाई एक महिनाभन्दा बढी समयदेखि अनुरोध गर्दै आएको कुरा सम्पूर्णमा अवगत गराउन चाहन्छौं ।’
अहिलेसम्म कुनै पनि नेपाली विद्यार्थीलाई कोरोना संक्रमण नभए पनि त्यसको खतरा रहेको उनीहरुको भनाइ छ। उनीहरुले भनेका छन्,‘आजको दिनसम्म बंगलादेशमा रहेका कुनै पनि नेपाली नागरिक कोभिड १९ संक्रमणको शिकार नभए पनि समयमै उद्धार गर्न ढिलासुस्ती भएको खण्डमा चाडै संक्रमित नहोलान् भन्न सकिन्न र भविष्यमा नेपाल सरकार र सम्बन्धित निकायले गरेको उद्धारको कुनै अर्थ नरहला।’
त्यहाँ दैनिक खान-बस्नसमेत कठिनाइ भइरहेको उनीहरुको भनाइ छ। विपदमा आफूहरुलाई फर्काउनु राज्यको दायित्व भए पनि उनीहरुले आफ्नै खर्चमा नेपाल आएर क्वारेन्टाइनमा बस्न तयार रहेको बताएका छन्।
‘यस्तो विपत अवस्थामा आफ्ना नागरिकलाई स्वदेश फर्काउनु राज्यको दायित्व भए पनि हामीले राज्यको असहजतालाइ मध्यनजर गरि आ-आफ्नै खर्चमा विमान चार्टर गरि सरकारले तोकेकै ठाउमा क्वारेन्टाइनमा बस्न मन्जुर भई अपिल गर्दै आएका छौं,’ उनीहरुको भनाइ छ।
स्वदेशमा फर्किएर आफ्नो ज्ञान, सीपले देशकाे सेवा गर्न पनि आफूहरु तयार रहेको उनीहरुको भनाइ छ। ‘सरकारले हामीलाई यहाँबाट चाँडो उद्धार गरी नेपाल लगे र आवश्यक सुरक्षाका साम्रगी उपलब्ध गराएमा हामी आफूले सिकेको ज्ञान र सीप गाउँगाउँँमा पुगेर निःशुल्क सेवा दिन तयार छौँ,’ उनीहरुले भनेका छन्, ‘महामारीले सताएको यो समयमा हामी नेपालमा सेवा दिन सक्छौँ।अहिलेको समयमा हामीलाई स्वदेश फर्कन जति आवश्यक छ, त्योभन्दा बढी हाम्रो आवश्यकता कोरोनाको कहर फैलिएको हाम्रो समाज र देशलाई पनि छ।’
बंगलादेशमा करिब साढे ८ सय नेपाली विद्यार्थी छन्।