काठमाडाैं- संघीय संसदका सांसद, कर्मचारी तथा सुरक्षाकर्मीकाे कोरोना परीक्षण रिपाेर्ट नेगेटिभ आएको छ। बिहीबार संकलन भएको स्वाब परीक्षण गर्दा सबैकाे रिपाेर्ट नेगेटिभ आएको संसद सचिवालयले जनाएको छ।
‘बिहीबार संकलन भएका सबै स्वाबको रिपाेर्ट नेगेटिभ आएको छ, बाँकीको शनिबारमात्र आउने छ’ सचिवालयले उल्लेख गरेको छ।
बिहीबार संघीय संसद भवन परिसरमा ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो। जसमा १७९ जना प्रतिनिधिसभाका र ३३ जना राष्ट्रिय सभाका सांसद थिए। त्यस्तै संसद सचिवालयका कर्मचारी र मर्यादापालक २२९ जनाको पनि स्वाब संकलन गरिएको थियो।
शुक्रबार पनि ६३ सांसदको स्वाब संकलन गरिएको छ। जसमध्ये ५३ जना प्रतिनिधि सभा तर्फका हुन् भने १० जना राष्ट्रिय सभाका सांसद हुन्।
सभामुख अग्नि सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार अहिलेसम्म मन्त्रीसहित २७५ जना सांसदको स्वाब संकलन गरिएको छ। ५४ जनाको संकलन बाँकी छ।
संसद सचिवालयले कोरोना परीक्षण गरेपछि मात्र सांसद र कर्मचारीलाई संसद भवनमा प्रवेश दिइने नियम बनाएको छ। संघीय संसद भवनबाट अहिलेसम्म ६९२ जनाको स्वाब संकलन गरिएको छ। बिहीबार ४४१ जना र शुक्रबार २५१ जनाको स्वाब संकलन गरिएको हो।