काठमाडौं- कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा १ हजार ३ सय १६ जनाको नमूना परीक्षण भएको छ। हालसम्म संक्रमितको संख्या १ सय १० छन्।
संक्रमितमध्ये हालसम्म ३१ जना उपचारपछि डिस्जार्च भएका छन्। ७९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। वीरगञ्जमा २७, नेपालगञ्जमा २४, विराटनगरमा २१, रुपन्देहीमा ६ र भरतपुरमा १ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। नेपालमा हालसम्म ७३ हजार ५ सय ५५ जनाको कोरोना परीक्षण भएको छ। १६ हजार ८ सय ९८ जनाको पिसिआर र ५६ हजार ६ सय ५७ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ।
कोरोनाको आशंकामा काठमाडौं उपत्यकामा ३ र बाहिर १ सय ६१ गरी कुल १ सय ६४ जना आईसोलेसनमा छन्। मुलुकभर १३ हजार ६ सय २५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।