काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले ओम्नी समूहले ल्याएका मेडिकल सामग्रीकै बलमा हालसम्म परीक्षण सम्भव भएको जनाउँदै विवादित ओम्नी समूहको बचाउ गरेका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेल उपस्थित भएको बैठकमा ओम्नीको बचाउँ गर्दै उनले भने, ‘ओम्नीले किन ल्यायो, कुरा बुझौं। उसले ज्यान बचायो’ मिडियामा आएका समचारका आधारमा सांसदहरुले समेत धारणा बनाएको भन्दै उनले असन्तुष्टि पोखे।
खरिद प्रक्रियामा पारदर्शीता अपनाइएको दाबी गर्दै उनले समिति सदस्यहरुलाई भने, ‘सबै पारदर्शी छ, फाइल हेरौं। १४ प्रतिशत बढी लिएको छ। सतप्रतिशत बढी लिएको कुरा समेत आए।’ उनले कोरोना परीक्षणका लागि हालसम्म ओेम्नीले ल्याएकै सामग्रीले पुगेको दाबी गर्दै ओम्नीको बचाउ गरेका हुन्।
समितिका सदस्यहरुले उठाएको प्रश्नमा जवाफ दिदैं स्वास्थ्य सचिव कोइरालाले देशभर १२७ अस्पतालनमा कोरोना उपचार हुने जानकारी दिए। कोरोना परीक्षण १७ प्रयोगशालामा भएको जानकारी दिँदै उनले ३ हजार टेस्टिङ दैनिक रुपमा गर्न सकिने क्षमता रहेको बताए। पिसिआर परीक्षणका लागि प्रतिपरीक्षण १० हजार रुपैयाँ खर्च लाग्ने उनले जानकारी गराए।
कोरोना रोकथाम र नियन्त्रणमा सरकारले गरेको कार्यको जानकारी गराउन बैठक डाकिएको थियो। सांसदहरुले विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन पहल गर्न आग्रह गरे। सीमा क्षेत्रमा अलपत्र परेकालाई स्वदेश ल्याई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न समिति सदस्यहरुले माग राखे। लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिइएको छ।
संक्रमण फैलिएको क्षेत्रमा थप कडाइ गर्न र अन्यत्र वातावरण खुकुलो बनाउँदै लैजान राय व्यक्त गरिएको छ। जघन्य अपराध नगरी कारागारमा रहेकालाई निश्चित मापदण्ड बनाएर रिहा गर्न निर्देशन दिइएको छ। स्थानीय स्तरमा बनेका क्वारेन्टाइन मापदण्ड विपरीत भए सुधार गर्न भनिएको छ। कोरोना परीक्षणमा पिसिआर प्रविधिलाई नै व्यापक गर्न सुझाइएको छ।