काठमाडौं- शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकको नियुक्तिको विषयलाई लिएर चिकित्सकहरु विभाजित भएका छन्।
प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा सरकारले त्रिवि शिक्षण अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा प्रेम ज्ञवालीलाई नियुक्त गरेको थियो।
डा ज्ञवालीको नियुक्तिलाई सरकारी चिकित्सकले विरोध गरेका छन् भने गैर सरकारी चिकित्सकले स्वागत गरेका छन्।
सरकारी चिकित्सक संघ (गोदान)ले विज्ञप्ति जारी गरी सरकारी स्वास्थ्य सेवा बाहिरको व्यक्तिलाई केन्द्रको कार्यकारी निर्देशकमा नियुक्ति गरेको भन्दै विरोध गरेको छ। मानव अंग प्रत्यारोपण विकास समिति गठन आदेश २०६८ मा भएको व्यवस्था अनुसार कार्यकारी निर्देशकको नियुक्ति हुनुपर्ने संघको माग छ।
सरकारले नियम विपरित डा ज्ञवालीलाई कार्यकारी निर्देशकमा नियुक्ति गरेको भन्दै संघले आपत्ति जनाएको छ।
यता, गैर चिकित्सक संघ नेपालले भने लोकसेवा बाहिरको व्यक्ति नियुक्त गरेको भन्दै सरकारको निर्णयको स्वागत गरेको छ। संघले विज्ञप्ति जारी गरी पहिलो पटक प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा सरकारी सेवा बाहेकका व्यक्तिलाई नियुक्ति गरेको खुशी व्यक्त गरेको छ।

