अन्जुला कार्की कोशी प्रादेशिक अस्पतालको अर्थोपेडिकल शल्यकक्ष (ओटी) की इन्चार्ज हुन्। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि अस्पतालले उनलाई कोभिड उपचार केन्द्रको नर्सिङ इन्चार्जका रुपमा खटाएको थियो। हालसम्म उक्त केन्द्रमा ३५ जना संक्रमित उपचारका लागि भर्ना भएका छन्। जसमध्ये १६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। सुरुमै नर्सिङ इन्चार्जका रुपमा काम गरेकी कार्कीले स्वास्थ्यखबरकी कल्पना पौडेलसँग संक्रमितको उपचार र व्यवस्थापनका विषयमा कुराकानी गरेकी छिन्। कार्कीको अनुभव उनकै शब्दमाः
कोशी अस्पतालमा पहिले नै छुट्टै कोभिड उपचार केन्द्र तयारी अवस्थामा राखिएको थियो। उक्त केन्द्रमा खटिने पहिलो चरणको स्वास्थ्यकर्मीको टिममा म नर्सिङ इन्चार्जको रुपमा थिएँ। मसँगै रेजिना राई, अनु बस्नेत, अस्मिता लिम्बु, अनु भगत, ममता माझी, अन्जना कटुवाल र प्रतिमा ढकाल नर्सिङ स्टाफ हुनुहुन्थ्यो।
कोभिडका लागि अस्पताल तयारी अवस्थामा राखेको समय र साँच्चिकै संक्रमित उपचारका लागि आउने कुरा भएपछिको सोच निकै फरक थियो।
जब उदयपुरबाट पहिलो पटक १२ जना संक्रमित आउने खबर आयो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट लगायत हामी सबै उनीहरुलाई रिसिभ गर्न जाँदैगर्दा डर लागेको थियो।
कोभिड–१९ बारे मिडियामा विभिन्न कुरा आइरहेका थिए। संक्रमण दर उच्च भएको र विश्वमा मृत्यु हुनेको संख्या पनि बढिरहेको थियो। जसमध्ये धेरै स्वास्थ्यकर्मी पनि भएको खबर आइरहेको थियो। त्यसैले पनि के हुने हो, कस्तो हुने हो भन्ने कुराले सताइरहेको थियो। जे भए पनि काम त गर्नैपर्ने थियो।
पहिलो चरणमा ड्युटी भएपछि परिवारका सदस्यमा तनावको स्थिति थियो। छोराछोरीले ‘हजुरलाई नै सुरुमै किन ड्युटी राखिदिएको मामु, अरुलाई राखेको भए के हुन्थ्यो। बरु यस्तो काम नै छोड्नुस् भनेका थिए। यसअघि कहिल्यै उनीहरुले त्यस्तो भनेका थिएनन्।’
अन्य परिवारका सदस्यले पनि त्यसै भन्नुभएको थियो। मेरो २५ वर्षे नर्सिङ सेवामा परिवारबाट यस्तो चिन्ता पहिले व्यक्त भएको थिएन। कोभिड–१९ जुन अवस्थामा आइरहेको छ, त्यसैले पनि चिन्ता बढी भएको थियो।
एक हप्ताको ड्युटी गरेपछि अर्को टिमको पालो बनाइएको थियो। एक हप्ता ड्युटीमा हुँदा संक्रमित राखिएको ठाउँमा पिपिई लगाएर हरेक समय नर्स हुन्थे। सुरु पिपिई धेरै नभएकोले धेरै जना जान मिलेन। नर्सले नै संक्रमितलाई खाना दिने, आवश्यक अन्य कुराको व्यवस्था मिलाइदिने गर्नुपथ्र्यो। पिपिई बचाउन कार्यालय सहयोगीले गर्ने काम पनि आफैं गर्नुपर्ने अवस्था थियो।
संक्रमितलाई अन्य स्वास्थ्य समस्या नभएकाले पहिला खासै समस्या त थिएन। तर सुरुको २–४ दिन भने निकै असजिलो भयो। कसरी गर्ने, के गर्ने भन्ने अलमल जस्तो। दिन बित्दै जाँदा सहज हुँदै गयो।
हामीले अस्पतालको तयारी गर्दा नै निकै राम्रो व्यवस्थापन गरेका थियौँ। तर पनि प्रत्यक्ष खटिँदा संक्रमण भइहाल्छ कि, भयो भने गर्ने भन्ने खालका कुरा मनमा आउने रहेछ।
तर, २–४ दिनमै यी कुरा सामान्य भएर गए। म नर्सिङ इन्चार्ज भएकाले सबै ड्युटी मिलाउनेदेखि लजिस्टिक व्यवस्थापन सबै हेर्नुपथ्र्यो। भित्र खटिएकाले नर्सले आफ्नो ड्युटीबाहेक सरसफाइ लगायतका अन्य काम गर्नुभयो। किनभने सबै भित्र जान गाह्रो थियो। पिपिई अभावको कारण त्यसरी गरेका थियौं।
जब तेस्रो पटक ५ जना संक्रमित आए। त्यसमा एक जना महिला हुनुहुन्थ्यो। उहाँ अस्पताल आएको राति नै महिनावारी हुनुभयो। उहाँले प्याड माग्नुभयो। त्यसपछि म झस्कें। किनकि त्यो कुरा त सोचिएकै थिएन। रातिको समय भएकाले त्यहाँ प्याड उपलब्ध हुन सकेन। हामीले पनि बोकेका रहेनछौं।
त्यस दिन विकल्प खोज्यौँ। र, भोलिपल्ट उहाँलाई प्याड उपलब्ध गराउन सक्यौँ। सबै व्यवस्था ग¥यौं भन्दाभन्दै पनि यस्ता कुरा छुट्ने रहेछ।
एक हप्ताको कोभिड–१९ अस्पतालको ड्युटी अवधिमा हामी सबैको पिसिआर जाँच गरिएको थियो। अस्पतालमा ड्युटी हुँदा पनि हामी क्वारेन्टाइनमा बसेका थियौं। ड्युटी जानुअघि खाजा, खाना र पानी खाइसकेको हुनुपथ्र्यो। पिपिई लगाएर संक्रमित भएको ठाउँमा गइसकेपछि ६ घण्टा केही खान, पिउन र शौचालयको प्रयोग गर्न मिल्दैन्थ्यो। ड्युटी सकिएपछि भित्रै बाथरुममा नुहाउने र क्वारेन्टाइनमा जाने व्यवस्था गरिएको थियो।
इन्चार्ज भएकाले यी सबै कुराको व्यवस्थापन हेर्नुपर्ने हुन्थ्यो। संक्रमितमध्ये एक जनालाई मोबाइल उपलब्ध गराइएको थियो। उहाँँहरुले केही आवश्यक परेमा मलाई फोन गर्नुहुन्थ्यो।
यो बीचमा प्रदेशका १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे पनि दिनहुँजसो अस्पताल आइरहनुहुन्थ्यो। के–कस्तो छ, केही समस्या छ कि भनेर सोध्नुहुन्थ्यो। अनि मेरै मोबाइलबाट संक्रमितसँग पनि कुरा गर्नुहुन्थ्यो। उहाँहरुलाई केही समस्या भए–नभएकोबारे सोध्नुहुन्थ्यो। त्यसले हामीलाई पनि निकै हौसला मिल्थ्यो।
ड्युटी अवधि सकिएपछि १४ दिन क्वारेन्टाइनमा बसेर मात्र घर गयौं। जब घर गयौँ, पहिलेको चिन्ता खुसीमा बदलियो।
अहिले विभिन्न अस्पतालमा संक्रमितको संख्या थपिएको छ। कोशी अस्पतालमा एकै पटक धेरै बिरामी आएकाले होला अरु अस्पतालबाट फोन गर्नुहुन्छ। कसरी म्यानेजमेन्ट गर्नुभयो भनेर सोध्नुहुन्छ। एक प्रकारले अहिले हाम्रो अनुभव अन्य कोभिडको संक्रमित भएको अस्पतालमा सेयर गरिरहेका छाँैं।
नर्सले जस्तोसुकै अवस्थामा पनि फ्रन्टलाइनमा बसेर काम गर्नुपर्ने हुन्छ। जोखिम भए पनि जनताको सेवा गर्ने कामकै लागि खटिएका हौँ। यस्तो बेलामा परिवार तथा समुदायकोे साथ र सहयोगको ठूलो महत्व हुन्छ। तर नर्सको मूल्यांकन भने कामअनुसार हुँदैन। यस्तो अवस्थामा भने दुःख लाग्छ।