काठमाडौं- कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार २ सय ३६ जनाको नमूना परीक्षण भएको छ।
नेपालमा हालसम्म ७८ हजार ५ सय ९१ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १८ हजार ९ सय ६४ जनाको पिसिआर र ५९ हजार ६ सय २७ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
मंगलबार दिउँसो भेटिएका ५७ जना संक्रमितलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिंदैछ। कुल संक्रमित १ सय ९१ जनामध्ये हाल १ सय ३ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
वीरगञ्जमा २७, रुपेन्देहीमा २८, नेपालगञ्जमा २४, विराटनगरमा १९, राजविराज र भरतपुरमा १÷१ जना संक्रमित उपचाररत छन्। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताए। संक्रमितमध्ये १ सय ५८ पुरुष र ३३ महिला छन्।
कोरोनाको आशंकामा काठमाडौं उपत्यका भित्र १ र बाहिर २ सय २७ गरी कुल २ सय २८ जना अस्पतालको आईसोलेसनमा छन्। मुलुकभर हाल १२ हजार ७ सय ८५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।