काठमाडौं— त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि आएकी ६ वर्षिया बालिकामा कोरोना पोजेटिभ देखिएपछि उनको सम्पर्कमा आएका व्यक्तिलाई १४ दिन क्वारेन्टाइनमा राख्ने जनाएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा प्रेमराज खड्गाले प्रेस विज्ञप्ति जारी गर्दै बालिकाको प्राइमरी सम्पर्कमा आएका व्यक्तिको पिसिआर परीक्षण गर्ने र १४ दिन क्वारेन्टाइन र सेल्फ क्वारेन्टाइनमा राख्ने जानकारी दिएका छन्।
कपिलवस्तुबाट वैशाख ३० गते उपचारका लागि ती बालिकाका शिक्षण अस्पतालको न्यूरो वडाको वेड नम्बर ५० मा भर्ना भएकी थिइन्। उनको घाँटीमा मासु पलाएकाले शल्यक्रियाका लागि काठमाडौं आएकी थिइन। अस्पतालले शल्यक्रिया गर्नुपूर्व पिसिआर जाँच गर्न लगाएपछि उनमा कोरोना पोजेटिभ देखिएको हो।
उनी दुध बोक्ने गाडीमा हजुरबुवा हजुरआमासँग काठमाडौं आएको बताइएको छ। उनीहरुलाइए समेत शिक्षण अस्पतालमा क्वारेन्टाइनमा राखिएको बताइएको छ।
संक्रमित बालिकालाई गणेशमान भवनको आइसोलेसन क्याविनमा सारी उपचार भइरहेको डा खड्गाले बताए।
अस्पतालको अन्य काम नियमित गर्न र प्राइमरी सम्पर्कमा आएका व्यक्तिमा कोरोना पोजेटिभ आएमा फेरि सेकेन्डरी सम्पर्कमा कन्ट्याक्ट ट्रेसिङ पिसिआर परीक्षण गरिने पनि अस्पतालले जनाएको छ।
अस्पतालले हाललाई इलेक्टिभ सर्जरी नगर्ने समेत जनाएको छ। आकस्मिक शल्यक्रिया गर्दा आवश्यक पिपिई लगाएर गर्न समेत अनुरोध गरेको छ।
.jpg)