काठमाडौं- चन्द्रगिरी नगरपालिका दहचोकका ७ वर्षीय बालक बाराबाट एम्बुलेन्समा काठमाडौं भित्रिएको खुलेको छ। दोलखा घर भएका उनको परिवार चन्द्रगिरीको दहचोकमा बस्दै आएका थिए। बुबा ट्याक्सी ड्राइभर र आमा कृषिमा काम गर्दै आएको वडाध्यक्ष राजेन्द्र केसीले बताए।
परीक्षा सकेर विद्यालय बन्द भएपछि आमाछोरा मामाघर बारा गएका थिए। तर तराईका जिल्लाहरुमा कोरोना भाइरसको संक्रमण सुरु भएपछि उनीहरु काठमाडौं आउने खोजीमा थिए। त्यही समयमा उनका एक आफन्त बिरामी भएपछि उनलाई काठमाडौं लैजान एम्बुलेन्सको जोहो भयो।
उक्त एम्बुलेन्समा उनीहरु पनि काठमाडौं फर्किए। एम्बुलेन्समा आएका बिरामीलाई उपचारका लागि टिचिङ अस्पताल लगिएको थियो। यसरी उनीहरू वैशाख ६ गते काठमाडौं भित्रिएको र परीक्षणमा बालकलाई मात्र पोजेटिभ देखिएको र आमालाई नदेखिएको वडाध्यक्ष केसीले बताए।सँगै ६‚७ जना अरू मानिसहरू पनि एम्बुलेन्समा आएको तर उनीहरु कहाँ र कता गएको केही जानकारी नभएको केसीले बताए।
कोरोना संक्रमण देखिएका बालकको बसोबास रहेको दहचोकमा ट्रेसिङ सुरु गरिसकिएको उनले बताए। ‘वैशाख ६ गतेदेखि उनीहरु कहाँ कहाँ गए र कस-कसलाई भेटे सबैको ट्रेसिङ गरेर उक्त क्षेत्रमा सिल गर्ने तयारी गरेका छौं’ वडाध्यक्ष केसीले भने‚ ‘उक्त क्षेत्रमा थप व्यक्तिमा संक्रमण भए नभएको भनी परीक्षण कार्य सुरू गरिएको छ।’ वडाले सर्वप्रथम उनीहरुसँगको सम्पर्कमा पुगेको व्यक्तिको खोजी गरेर उनीहरुलाई उचित क्वारेन्टाइनमा राख्ने काम गर्ने उनले बताए।