काठमाडौं— नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाल जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झा, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेसहित अन्य ४ जना डाक्टरलाई स्पष्टिकरण सोधेको छ।
परिषद्ले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा विवेकलाल कर्ण र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर अनुप बास्तोला, राष्ट्रिय प्रयोगशालाका माइक्रोबायोलोजिष्ट डा रन्जित साह र डा हेमन्त चन्द्र ओझा समेतलाई स्पष्टीकरण सोधेको हो।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सचिव डा प्रदीप ज्ञवालीले वैशाख २९ गते पत्र पठाउदै लिखित स्पष्टिकरण सोधेको बताए।
उनले भने,‘कुनैपनि मानव स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान कार्य गर्दा परिषद्को इथिकल बोर्डसँग पूर्व स्वीकृति लिनुपर्ने हुन्छ। उहाँहरुले परिषद्सँग स्वीकृति नलिई अनुसन्धान गरेकोले स्पष्टिकरण सोधिएको हो। यो नियमित प्रक्रिया हो।’
उनले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा ११ अनुसार स्पष्टिकरण सोधिएको बताए। उनले परिषद् आफैले पनि कुनै अनुसन्धान थाल्नुपूर्व इथिकल बोर्डसँग स्वीकृति लिनुपर्ने बताए।
उनीहरुलाई पत्र प्राप्त भएको ७ दिनभित्र स्पष्ट लिखित जवाफ प्रमाणसहित परिषद्मा पेस भनिएको छ।
परिषद्ले सो पत्रको बोधार्थ स्वास्थ्य मन्त्रीको सचिवालय र स्वास्थ्य सचिवलाई समेत पठाएको छ।
स्पष्टीकरण सोधिएको पत्रमा,‘परिषद्को स्वीकृति लिनुपर्नेमा स्वीकृति नलिई उक्त अनुसन्धान कार्य सम्पन्न गरी वैज्ञानिक लेख समेत प्रकाशन गरेको पाइएको हुँदा तपाईंहरुले परिषदबाट स्वीकृति नलिई उक्त अनुसन्धानमूलक लेख प्रकाशन गरेवापत् तपाईहरुलाई किन कारवाही नगर्ने?’ भनिएको छ।
परिषद्ले कारवाही गर्न नपर्ने कुनै मनासिब कारण भए सोको स्पष्ट लिखित जवाफ प्रमाण सहित पत्र प्राप्त भएको ७ दिन भित्र परिषद्मा पेस गर्न निर्देशन दिएको छ।
उनीहरुले कोरोना भाइरसको जिन सिक्वेन्सिङका विषयमा अनुसन्धानमुलक लेख प्रकाशित गरेका हुन्।
हेरौँ पत्र
.jpg)