काठमाडौं - सरकारले विमानस्थल तथा भारत र चीनका नाकाहरुमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हेल्थ डेस्क र क्वारेन्टाइन स्थापना गर्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डरीले उक्त जानकारी दिएकी हुन्।
महामारीजन्य अवस्थाको निगरानी, पहिचान तथा नियन्त्रण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हेल्थ डेस्क संरचना निर्माण गर्न स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको थियो।
स्वास्थ्य मन्त्रालयले १२ वटा खुला सीमा नाका रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको तातोपानी, इलामको पशुपतिनगर, झापाको काकडभित्ता, विराटनगरको रानी भन्सार, जलेश्वरको भित्टामोड, वीरगंजको वीरगंज भन्सार, भैरहवाको बेलैया, नेपालगन्जको जमुनाह धनगढीको मोहना, टीकापुरको खद्रौला र कञ्चनपुरको गड्डाचौकी अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको स्थायी हेल्थ डेस्क संरचना निर्माण गरी संचालन गर्ने छ।
नेपाल आगमन पूर्व जनस्वास्थ्यका दृष्टिकोणले जोखिम रोगको स्वास्थ्य जाँच गर्नुपर्ने कानुनी व्यवस्था गरिने मन्त्रालयले जनाएको छ।